२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

नेकपा–कांग्रेस कार्यकर्ताको झडपमा प्रहरीसहित २१ घाइते

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको धनकौलमा आइतबार साँझ नेकपा र कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् ।

झडप नियन्त्रणमा लिन गएका तीन प्रहरी पनि घाइते छन् । उनीहरूको अवस्था सामान्य छ । घाइते सबैको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

एक साताअघि सर्लाहीको रामनगरका रामजनम यादवको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्नुपर्ने मागसहित नेकपाले आइतबार साँझ धनकौलमा जुलुस निकालेको थियो । ४०–५० जनाको समूहमा रहेका नेकपाका कार्यकर्ताले कांग्रेस कार्यकर्ताको घर अगाडि टायर बाल्ने क्रममा झडप भएको थियो । घर अगाडि टायर नबाल्न भन्दा आफ्ना कार्यकर्ता कुटिएको भन्दै कांग्रेसका कार्यकर्ताले पनि उनीहरूमाथि ढुंगामुढा गरेका थिए ।

झडप नियन्त्रणमा केही राउन्ड गोली चलाएको थियो । घाइते अधिकांशलाई गोलीको छर्रा लागेको छ । गोली कसले चलाएको भन्ने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ । जुलुस निकालेका बेला कांग्रेस कार्यकर्ताले एक्कासि ढुंगामुढा गरेको गोलीसमेत प्रहार गरेको आरोप नेकपाले लगाएको छ ।

प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको बताए । ‘आइतबार बिहान ट्र्याक्टरका विषयमा दुई जनाबीच कुटाकुट भएको थियो, त्यसलाई नै उनीहरूले दुई पक्ष र पार्टीको इस्यु बनाइदिए,’ प्रहरी उपरीक्षक पोखरेलले भने, ‘गोली कसले प्रहार गर्‍यो भनेर अनुसन्धान गरिरहेका छौं ।’ गोली प्रहारका विषयमा एक जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रकाशित : असार १५, २०७७ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?