कञ्चनरूप नगरपालिकाको गाडीले ठक्कर दिँदा आमाछोराको मृत्यु

अवधेशकुमार झा

राजविराज — सप्तरीको खड्ग नगरपालिका–७ मा बुधबार बेलुकी गाडीको ठक्करबाट आमाछोराले ज्यान गुमाएका छन् । उनीहरूलाई कञ्चनरूप नगरपालिकाको स्कारपियोले ठक्कर दिएको हो ।

मृत्यु हुनेमा ६५ वर्षीया सुदनीदेवी दास र ४० वर्षीय वीरेन्द्र दास छन् । स१झ ४८७ नम्बरको स्कारपियोले बेलुकी ९ बजे ठक्कर दिँदा उनीहरूको घटास्थलमै ज्यान गएको थियो ।

कमलेश मुखियाले चलाएको उक्त गाडीमा घटनाका बेला नगरपालिकाका लेखा अधिकृत राजेशकुमार राज पनि थिए ।

आमाछोरालाई ठक्कर दिएपछि उनीहरू भागेका थिए । चालक मुखिया राजविराजमा लेखा अधिकृत राजलाई छोडेर भारदह हुँदै कञ्चनपुर गइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । चालकसहित गाडी पनि प्रहरी नियन्त्रणमा रहेको डीएसपी तिलक भारतीले जानकारी दिए ।

चालकको राति नै स्वास्थ्य परीक्षण गरिए पनि मदिरा पिए/नपिएको रिपोर्ट आइनसकेको उनले बताए । स्रोतका अनुसार बुधबार कञ्चनरुप नगरपालिकाको नगरसभा थियो । नगरसभापछि लेखा अधिकृत राज चालकसहित गाडी लिएर लहान गएका थिए । फर्किने क्रममा उक्त दुर्घटना भएको हो ।

प्रकाशित : असार ११, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?