३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

१० वर्षअघिको बम बिस्फोटका आरोपी पक्राउ

शिव पुरी

रौतहट — एकदशक अघि सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ । दुवै तत्कालीन भूमिगत संगठनका जिल्ला नेता रहेको जनाइएको छ । 

१० वर्षअघिको बम बिस्फोटका आरोपी पक्राउ

इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई बम बिरुफोटको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ । २०६७ चैत ११ गते जिल्लाको हजमिनियामा सदरमुकाम गौरबाट आउँदै गरेको ना २ ख ५७२१ गुडिरहेको बसमा बम विस्फोट हुँदा १३ यात्रु घाइते भएका थिए । विस्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो । त्यस बेला शेख गुलाम मोर्चाका जिल्ला नेता थिए । घटनामा उनीहरुको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

घटनापछि फरार दुबैलाई प्रदेश २ प्रहरी कार्यालय जनकपुरको विशेष र रौतहट प्रहरीको संयुक्त टोलीले ईशनाथ नगरपालिकाबाट पक्राउ गरेको हो । प्रदेशका डिआईजी धिरजप्रताप सिंहले दुबै जनालाई पक्राउ गरिएको पुष्टि गरे । त्यहीबेला घटनामा ७ जना संलग्न रहेको खुलेको थियो । ५ जना अझै फरार छन् । ‘गुलाम र साहलाई प्रदेश टोलीले एक सातादेखि पिछा गर्दै आएको थियो,’ डिआईजी सिंहले भने,‘अपराध गर्नेहरु कानुनको फन्दाबाट उम्कन पाउँदैन ।’

तराईमा भूमिगत समूहको गतिविधि उत्कर्षमा पुगेको बेला गुलाम र साह बम विस्फोट, चन्दा आतंकमा पनि संलग्नता रँहदै आएको प्रहरीको दाबी छ । अन्य फरारको खोजी भइरहेको जिल्ला प्रहरी गौरका डिएसपि भरत श्रेष्ठले जनाए । पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु गरेका छौ,’ डिएसपी श्रेष्ठले भने,‘घटना एक दशक अघिको भए पनि सोधपुछ र अनुसन्धानलाई तिब्रता दिन्छौं । दुवै जना विरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा दर्ता गरेरको अनुसन्धान भइरहेको छ ।’

प्रकाशित : असार १०, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?