कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंगियाही खोला उत्खनन : रसिद लुकाएर राजस्व ‘हिनामिना’

पर्सागढी नगरपालिकाले ३२०० सय थान रसिद रहेको दाबी गरे पनि वन कार्यालयको अभिलेखमा ५६०० नम्बरसम्मको रसिद इन्ट्री भएको छ ।
भूषण यादव

वीरगन्ज — पर्सागढी नगरपालिका–१ स्थित सिंगियाही खोलाबाट गिट्टी–बालुवा संकलनबापतको राजस्वमा व्यापक अनियमितता भएको पाइएको छ ।

सिंगियाही खोला उत्खनन : रसिद लुकाएर राजस्व ‘हिनामिना’

नदीजन्य पदार्थ उत्खननको ठेक्का नलागेपछि नगरले गत जेठ २३ देखि ३२ गतेसम्म अमानतमा आफैंले उत्खनन गराएको थियो । तर उत्खनन बन्द भएको ९ दिन बित्दा पनि संकलित पदार्थबापतको सबै राजस्व नगरपालिकामा दाखिला भएको छैन । नगरले काटेको राजस्व रसिद र वन कार्यालयले गरेको इन्ट्रीमा समेत ठूलो अन्तर देखिएको छ ।

राजस्व संकलनका लागि नगरपालिकाले सुरेन्द्रप्रसाद मण्डललाई खटाएको थियो । मण्डलले खोला प्रवेश गर्ने प्रत्येक ट्याक्टर चालकसँग मूल्य अभिवृद्धिकरसहित ४ सय ९८ रुपैयाँ लिएर नगरपालिकाको रसिद दिने गरेका थिए । खोलाबाट ढुंगा–बालुवा लोड गरेर आउने ट्याक्टरलाई मनवा सब डिभिजन वन कार्यालयका रक्षकले वनको रजिस्टरमा इन्ट्री गर्ने गरेका थिए ।

नगरपालिकाको राजस्व फाँटका अनुसार राजस्व संकलनका लागि कर्मचारीलाई ३ हजार २ सय थान रसिद दिइएको थियो । जसमध्ये २ सय ५० थान रसिद फिर्ता भएको छ । ‘नदीजन्य पदार्थको आम्दानी शीर्षकमा १२ लाख ४७ हजार रुपैयाँ दाखिला भएको छ,’ राजस्व फाँटका अशोक चौधरीले भने, ‘काटिएको रसिदबापतको २ लाख २१ हजार अझै दाखिला भएको छैन ।’ राजस्व फाँटले ३ हजार २ सय थान रसिद कर्मचारीलाई दिइएको दाबी गरे पनि वनको रजिस्टरमा ५ हजार ६ सय नम्बरसम्मको रसिदमा ट्याक्टरले नदीजन्य पदार्थ लोड गरेर खोलाबाट बाहिरिएको अभिलेख छ । नगरको राजस्व फाँट र वनको अभिलेखमा २ हजार ४ सय थान रसिदको अन्तर देखिएको छ । नदीजन्य पदार्थ निकासीमा वन र नगरपालिकाको विवरण नमिलेको प्रश्नमा चौधरीले भने, ‘यसबारे थप मेयर र हाकिम साहेबसँग बुझ्नुहोला ।’

सब डिभिजनका वनरक्षक सत्यनारायण चौधरीले ५ हजार ६ सय नम्बरको रसिदमा ट्याक्टर चालकले राजस्व तिरेर ढुंगा/बालुवा लोड गरी ल्याएको र आफूले त्यही इन्ट्री गरेको बताए । ‘मैले एक्लैले भ्याएसम्म रसिद र ट्याक्टर नम्बर इन्ट्री गरेको हुँ,’ उनले भने, ‘५ हजार ६ सय रसिद नम्बरसम्म त रजिस्टरमै इन्ट्री छ, कतिपय ट्याक्टर बिनाइन्ट्री नै बाहिरिए ।’

वन कर्मचारी र स्थानीयका अनुसार खोलाबाट दैनिक कम्तीमा हजारको संख्यामा ट्याक्टर ढुंगा–बालुवा लोड गरेर निस्किन्थे । राजस्व संकलन रसिद दुईवटा प्रयोग भएको एक कर्मचारीले दाबी गरे । ‘एउटा ट्याक्टरबाट ५८ रुपैयाँ मूल्य अभिवृद्धि करसहित ४ सय ९८ रुपैयाँ संकलन गरेका छन्,’ उनले भने, ‘१० दिनमा १० हजार ट्याक्टरबाट करिब ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।’

स्थानीय रमु शर्मा नदीजन्य पदार्थ उत्खननबाट संकलित राजस्व हिनामिना गर्नेमाथि सरोकारवाला निकायले छानबिन गर्नुपर्ने बताउँछन् । ‘दिनरात ट्याक्टरले ढुंगा–बालुवा ढुवानी गरेका थिए,’ उनले भने, ‘संकलित राजस्वको आधा रकम पनि नगरपालिकामा दाखिला भएको छैन् ।’

मेयर लोकनारायण यादवले कर्मचारीले सम्पूर्ण राजस्व दाखिला गरिसकेको दाबी गरेका छन् । ‘नदीजन्य पदार्थबाट संकलित सबै राजस्व दाखिला भइसकेको छ,’ उनले भने, ‘त्यस्तो कुरा छैन, सबै रकम जम्मा भएको छ ।’ जिल्ला समन्वय समितिका अध्यक्ष नेक महमद अन्सारीका अनुसार अमानतमा उत्खनन गराउँदा प्रत्येक दिनको विवरण नगरपालिकाले समितिको कार्यालयमा बुझाउनुपर्छ । सिंगियाही खोलामा उत्खनन बन्द भएको साताभन्दा बढी बितिसक्दा पनि हालसम्म संकलित पदार्थको परिमाण र कति रसिद काटियो भन्ने विवरण नगरपालिकाले उपलब्ध नगराएको उनले खुलाए । ‘संकलित राजस्वमा अनियमितता गर्नेमाथि कारबाही हुन्छ,’ उनले भने, ‘वन र नगरपालिकाको अभिलेख चेक गर्छौं ।’

प्रकाशित : असार १०, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?