कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रौतहटमा ३ वर्षअघि राखिएको बम फेला पर्‍यो

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–५ स्थित राधाकृष्ण मन्दिर परिसरमा बिहीबार बम फेला परेको छ । मन्दिरको कम्पाउन्ड वाल निर्माण गर्ने क्रममा मजदुरले बम फेला पारेका हुन् । त्यस क्षेत्रलाई इलाका प्रहरीले घेरेर राखेको छ । तीन वर्षअघि चुनावी सभालाई लक्षित गर्दै चन्द समूहले राखेको बम बिस्फोट हुँदा ८ जना घाइते भएका थिए । सोही बेला राखेको बम अहिले फेला परेको प्रहरीले जनाएको छ ।

रौतहटमा ३ वर्षअघि राखिएको बम फेला पर्‍यो

२०७४ मसिर १ गते तत्कालीन एमालेको चुनावी सभालाई लक्षित गरी चन्द समूहले मन्दिर परिसरमा टाइम बम राखेको थियो । उक्त बम बिस्फोट हुँदा स्थानीय सरिता राई र उनका ७ वर्षीय छोरा गम्भीर घाइते भएका थिए । बिस्फोटमा राईलगायत ८ जना घाइते भएका थिए । सोही बेला राखेको अर्को बम भने बिस्फोट नभएको प्रहरीको अनुमान छ । संसदीय चुनावका बेला एमालेले वडास्तरको सभाको आयोजना गरेको थियो ।

घटनाको तीन वर्षपछि बिहीबार मन्दिरको कम्पाउन्ड वाल निर्माण गर्ने क्रममा खाडल बनाउँदा बम फेला पारेको हो । इलाकाका डीएसपी हेमबहादुर शाहीले बम फेला पारेको पुष्टि गरे । ‘अहिले त्यस इलाकालाई घेराबन्दी गरेर राखेका छौ,’उनले भने, ‘डिस्पोजका लागि सेनालाई खबर गरिसकेका छौं।’ बमको चारैतिर तार ब्याट्रि फिट गरिएको छ । टाइमसहित थुप्रै बम राखिएको अनुमान छ । केही बिस्फोट भए पनि एउटा त्यतिकै जमिन मुनि छाडिएको प्रहरीले जनायो । बम फेला पारेको स्थानमा चन्द्रपुर सरकारी अस्पताल पनि पर्छ । अहिले बम हेर्न अस्पताल आएकाहरुको भीड लागेको छ ।

प्रकाशित : असार ४, २०७७ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?