एम्बुलेन्समा गाँजा, ट्यांकरमा मदिरा तस्करी

भूषण यादव

वीरगन्ज — सीमावर्ती नाकातर्फ गइरहेको एम्बुलेन्सबाट प्रहरीले लागू औषध गाँजा बरामद गरेको छ । पर्सा प्रहरीको क्राइम ब्रान्चका प्रहरी निरीक्षक रविभूषण यादव नेतृत्वको टोलीले ना ४च ८५९९ नम्बरको अल्पाइन मेडिकल कलेज टिचिङ हस्पिटल सिमराको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद गरेको हो ।

एम्बुलेन्समा गाँजा, ट्यांकरमा मदिरा तस्करी

विशेष सूचनाको आधारमा प्रहरीले बुधबार बिहान पौने ३ बजेको समयमा पर्साको बहुदरमाई गाउँपालिका-५ स्थित भौराटार गाउँतर्फ जाने क्रममा एम्बुलेन्स नियन्त्रणमा लिएको थियो ।

‘हेटौँडामा गाँजा लोड भएदेखि हामीलाई सूचना आइरहेको थियो,’ कान्तिपुरसँग प्रहरी निरीक्षक यादवले भने, ‘रातिदेखि नै हामी गण्डक नहरमा चेक गरिरहेका थियौँ, एम्बुलेन्स चेक गर्दा बिरामी राख्ने सिट मुनि फिटिङ गरी राखेको अवस्थामा ५६ किलो गाँजा बरामद भयो ।’

सर्लाही लालबन्दी निवासी एम्बुलेन्स चालक २२ वर्षीय दिलबहादुर वाइबासहित ३ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । ‘गाँजाको मुख्य कारोबारीको बारेमा समेत अनुसन्धान गरिरहेका छौँ,’ एसपी पन्तले भनिन् ।

इन्धन बोक्ने ट्यांकरमा मदिरा बरामद

त्यस्तै भारत रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनमा इन्धन लोड गर्न जाने ट्यांकरबाट विभिन्न ब्रान्डका मदिरा बरामद भएको छ । विशेष सूचनाको आधारमा प्रहरीले बुधबार विहान साढे ६ बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोक अगाडि ना २ ख ७३७५ नम्बरको ट्यांकर नियन्त्रणमा लिएर चेक गर्दा सिग्नेचर क्वार्टर ३३ पिस, ८८४८ भोड्का क्वार्टर २८ पिस, नेपाल आइस क्यान बियर २४ पिस र गोल्डेन ओक क्वार्टर ४८ पिस बरामद भएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी गौतम थापाले बताए । ट्यांकर चालक हेटौँडा उपमहानगरपालिका–१६ निवासी सन्दिप थिङ र सहचालक पदमबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित रहेकाले नेपालको सीमावर्ती जिल्लाबाट यसको अवैध कारोबार हुँदै आएको छ । पछिल्लो समयमा लकडाउनका कारण दुई देशको सिमानामा सुरक्षाकर्मीको निगरानी बढेको र अन्य सवारी साधनलाई नाका ओहोरदोहोरमा कडाइ गरिएकाले इन्धन बोक्ने ट्यांकरमा मदिरा राखेर भारततर्फ लगिएको जानकार बताउँछन् । यसरी लगिएको मदिरा बिहारमा दोब्बर मूल्यमा बिक्री हुने गरेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७७ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?