प्रदेश २ को प्रदेशसभा बैठक विद्युतीय माध्यमबाट

अजित तिवारी

जनकपुर — एकैपटक ५ जना मर्यादापालकलाई कोरोना संक्रमण भएपछि प्रदेश २ को प्रदेशसभा बैठक विद्युतीय माध्यमबाट सञ्चालन गर्न प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गरिने भएको छ ।

प्रदेश २ को प्रदेशसभा बैठक विद्युतीय माध्यमबाट

प्रदेश २ को प्रदेशसभाको शुक्रबार बसेको बैठकमा संसदको बैठक र संसदीय समितिको बैठक विद्युतीय माध्यमबाट गरिने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

बिहीबार प्रदेशसभा सचिवालयमा कार्यरत ५ जना मर्यादापालक र एकजना राज्यमन्त्रीको स्वकीय सचिव कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि उक्त दिनको बैठक स्थगित गरिएको थियो ।

शुक्रबार बसेको बैठकमा सत्तारुढ दल समाजवादी पार्टीका सचेतक शैलेन्द्र यादवले कोरोना भाइरसको महामारी फैलिरहेको बेला प्रदेशसभाको बैठक सूचना तथा सञ्चार माध्यमबाट गर्नुपर्ने आवश्यकता रहेकाको बताउँदै प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन गर्न प्रस्ताव गरेका हुन् ।

प्रदेशसभाको बैठक र संसदीय समितिको बैठक सूचना तथा सञ्चार माध्यमबाट सञ्चालन गरिने संशोधन प्रस्तावमा पेश गरिएको छ । नियमावलीको नियम २ सय २३ संशोधन गरेर त्यसमा विद्युतीय माध्यमबाट हुने संसदको बैठकमा सहभागी सदस्यको सहभागितालाई मान्यता दिइने, बैठकमा पक्ष वा विपक्षमा हुने मतदान प्रकृयामा सांसदलाई सहभागी गराइने र त्यो मतदानलाई मान्यता दिइने प्रस्ताव गरिएको छ । विद्युतीय माध्यमबाट हुने संसदको बैठकको विद्युतीय अभिलेख राख्‍न पनि संशोधनमा प्रस्ताव गरिएको छ ।

‘लकडाउनले अन्तरजिल्ला आवागमनमा रोक लगाइएको छ । तर प्रदेशसभाको बैठक सञ्चालन गर्नुपर्ने बाध्यता पनि छ,’ संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद यादवले भने,‘संसद बैठकमा उपस्थित हुने सांसदको अधिकारलाई सुनिश्चित गर्न कानुनी व्यवस्था गर्न वाञ्छनीय छ ।’ सत्तारुढ दल समाजवादी पार्टीले गरेको उक्त संशोधन प्रस्तावलाई सत्ता गठबन्धन दल राष्ट्रिय जनता पार्टीका सचेतक प्रमेश्वर साह, प्रमुख प्रतिपक्षी नेकपाकी सांसद ज्वालाकुमारी साह र प्रतिपक्ष दल कांग्रेसका सांसद शोभाकुमारी लामाले समर्थन गरेका थिए ।

सभामुख सरोज यादवले संशोधन प्रस्तावमा छलफल गर्न आह्यन गरेपनि शुक्रबारको बैठकमा उपस्थित कोही पनि सांसदले बोल्न नचाहेपछि निर्णायार्थ प्रस्तुत गरिएको थियो । प्रदेशसभा सचिवालयमै कार्यरत ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि शुक्रबार बसेको बैठकमा सांसदहरुको न्यून उपस्थिति थियो ।

प्रकाशित : जेष्ठ २३, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?