१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

वीरगन्जका पसल शुक्रबारदेखि खुल्ने

भूषण यादव

वीरगन्ज — गत चैत ११ मा लकडाउन जारी भएदेखि बन्द रहेका वीरगन्जका पसल व्यवसाय शुक्रबारदेखि खुल्ने भएका छन् । सुरक्षा मापदण्डको पालना गर्दै व्यवसाय गर्न पाइने छ । ७२ दिनदेखि पसल व्यवसाय गर्न नपाएका व्यवसायीले पछिल्लो चार दिन यतादेखि व्यवसाय गर्न पाउने माग राखि प्रदर्शन गरेका थिए ।

वीरगन्जका पसल शुक्रबारदेखि खुल्ने

संकट व्यवस्थापन केन्द्र पर्साले एक विज्ञप्ति प्रकाशित गरी उद्योगी, व्यवसायीहरुले कोभिड–१९ को संक्रमण नफैलिने गरी व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन गरेको अनुरोधलाई मध्यनगर राखी विभिन्न व्यवसायीहरुलाई जेठ २३ देखि सञ्चालन गर्न अनुमति दिने जनाएको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न व्यवसाय सञ्चालनको बार र समय निर्धारण गरेको छ । जसअन्तर्गत औषधि पसलहरु २४ सै घन्टा सञ्चालन हुने छन् । बैंक तथ वित्तिय संस्थाहरु नियमित रुपमा सञ्चालनमा आउने बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार अत्यावश्यक वस्तुहरु (खाद्य, किराना, आलु, प्याज, पानी, दूध, ग्यास आदि) को बिक्री वितरण गर्ने पसलहरु हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म खोल्न पाउने छन् । तरकारी तथा फलफूल (सटरमा राखिएका वा मोबाइल) हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म बिक्री गर्न पाइने छ । हाट बजार तथा तरकारी मण्डी र खुला स्थानमा बिक्री वितरण गर्न नदिने निर्णय भएको छ । रेडिमेड कपडा, कस्मेटिक, इलेक्ट्रोनिक्स आदिका पसलहरु जोर गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने पाइने छ ।

हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुन–चाँदी, फर्निचर तथा अन्य पसल बिजोर गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने बस्नेतले बताए । माछा, कुखुरा तथा सोको दाना, पशु, आहार, खाद्य, किराना, कृषि उत्पादन, मल, बीउ, सिमेन्ट, डण्डी, जस्तापाता, कोइला, विटुमिन तेल, क्लिंकर, निर्माण सामाग्रीहरु लगायत अन्य मालवस्तुको ढुवानी हरेक दिन साँझ ७ बजेपछि तोकिएको समयमा ढुवानी गर्नको लागि सवारी पासको आवश्यक पर्ने छैन् । सिनेमा हल, जिमखाना, होटल, रेष्टुरेन्ट, चियापसल (फुटपाथमा राखिएका समेत) मिठाइपसल, मदिराजन्य पसल, सैलुन, मठ मन्दिर, मस्जिद, गुम्बा अन्य मानिसहरुको भीडभाड हुने स्थलहरु पूर्ण रुपमा बन्द रहेन छन् । सार्वजनिक बस, रिक्सा, टेम्पो, मोटरसाइकल, साइकल लगायतका पास नभएका सम्पूर्ण सवारी पनि पूर्ण रुपमा बन्द संकट व्यवस्थापन केन्द्रको विज्ञप्तिमा उल्लेख छ ।

पसल, व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा पालना गर्ने, गराउनु मापदण्ड समेत केन्द्रले बनाएको छ । ‘सेवा प्रवाह एवं मालसामान खरिद बिक्री गने क्रममा संक्रमणको जोखिम हुन नदिन, भीडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दूरी कायम हुने गरी लाइन व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित संस्था,व्यवसायीको हुनेछ । व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ । बैंक, वित्तिय संस्था तथा पसलमा सेनेटाइजरको व्यवस्था गर्नुपर्नेछ । व्यवसाय सञ्चालन तथा मालसामान खरिद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न पाइने छैन्,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । तर, बैंक वित्तीय संस्था, औषधी पसल जस्ता अति आवश्यक सेवा सञ्चालन गर्नको लागि सवारी साधानको प्रयोग गर्नुपर्ने अवस्थामा मुख्य सहरभन्दा बाहिर तोकिएका स्थानमा पार्किङ गर्न सकिनेछ ।

संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव समेत रहेका बस्नेतका अनुसार वीरगन्ज उद्योग वाणिज्य संघले विभिन्न व्यवसायीहरुको संलग्नतामा एउटा मापदण्ड कार्यान्वयन टोली बनाई उल्लेखित प्रावधान एवं नेपाल सरकारले निर्धारण गरेको अन्य मापदण्ड कार्यान्वयन गर्न गराउन पहल गर्ने छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र वा जिल्ला सुरक्षा निकायका प्रतिनिधीले अनुगमन गर्दा उल्लेखित प्रावधानहरुको पालना भएको नपाइएमा त्यस्ता सेवा वा व्यवसाय बन्द गराइ संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गर्ने निर्णय भएको बस्नेतले जनाए । जेठ ३२ गतेसम्म लागू हुने गरी जारी गरिएको लकडाउनको कार्यान्वयन तथा कोभिड–१९ को रोकथाम, नियन्त्रण एवं व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णयसमेत भएको बस्नेतले जनाए ।

प्रकाशित : जेष्ठ २२, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?