क्‍वारेन्टाइन र आइसोलेसन थुनाजस्तो : मुख्यमन्त्री राउत

महामारीको बेला संघीय सरकारले अभिभावकको भूमिका निर्वाह नगरेको आरोप
अजित तिवारी

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले क्‍वारेन्टाइन र आइसोलेसनमा रहेकाहरु ‘थुनुवाको जस्तो जिन्दगी’ बिताइरहेको बताएका छन् । उनले क्‍वारेन्टाइन र आइसोलेसनमा पूर्वाधारको अभाव रहेको समेत बताए ।

क्‍वारेन्टाइन र आइसोलेसन थुनाजस्तो : मुख्यमन्त्री राउत

‘क्‍वारेन्टाइन कोरोना भाइरसको प्रकोप बढाउने स्थल बनेको छ,’प्रदेशसभाको बुधबारदेखि सुरु भएको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै मुख्यमन्त्री राउतले भने,‘क्वारेन्टाइनमा एकजना संक्रमितले थुप्रैमा कोरोना भाइरस सार्ने गरेको छ । त्यसैले क्‍वारेन्टाइन र आइसोलेसनलाई व्यवस्थित बनाउन आवश्यक छ ।’ प्रदेश २ को विद्यालय, धर्मशाला र सार्वजनिक स्थलमा स्थानीय तहले बनाएको क्‍वारेन्टाइन विश्‍व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार नरहेको पनि मुख्यमन्त्री राउतले बताए ।

‘क्वारेन्टाइनमा बस्नेहरु थुनुवाको जस्तो जिन्दगी बिताइरहेका छन,’ मुख्यमन्त्री राउतले भने,‘कमी छ । असुविधा छ । त्यसैले तीनै तहको सरकारबीच समन्वय र सहकार्य हुनुपर्छ । यो भएको छैन ।’ महामारीको अवधिमा संघीय सरकारले अभिभावकको भूमिका निर्वाह नगरेको आरोप लगाउँदै उनले प्रदेश सरकारले आफ्नो तहबाट महामारीसँग जुध्‍न कुनै कसर बाँकी नराखेको दाबी गरे ।

‘भिटिएमको अभाव छ । पीसीआर परीक्षण ठूलो संख्यामा गर्न सकिएको छैन,’ मुख्यमन्त्री राउतले भने,‘यी समस्या त छँदैछ । तर, लकडाउन लम्बिँदै गर्दा रोगले भन्दा भोकले मर्ने समस्या छ ।’ मुख्यमन्त्री राउतको प्रदेश २ सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य, रोजगारी, कृषि र शिक्षालाई प्राथमिकतामा राखिने पनि बताए ।

‘अस्पतालका पूर्वाधारमा सुधार, बिदेशबाट फर्किएकालाई स्वदेशमै रोजगारी र संक्रमण रोक्न आइसोलेशनलाई सुविधासम्पन्न बनाउनेमा बजेट केन्द्रीत रहनेछ,’ मुख्यमन्त्री राउतले भने ।

प्रकाशित : जेष्ठ २१, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?