२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पर्साका थप ७ जनामा कोरोना संक्रमण

भूषण यादव

वीरगन्ज — भारतबाट फर्किएका पर्साका तीन गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कालिकामाई गाउँपालिकाका ४ जना, सखुवाप्रसौनी गाउँपालिकाका २ जना र विन्दवासनी गाउँपालिकाका एक जना गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

पर्साका थप ७ जनामा कोरोना संक्रमण

नारायणी अस्पतालको पीसीआर मेसिनमा गरिएको स्वाब परीक्षणमा मंगलबार साँझ एक जना र बुधबार विहान ६ जनाको रिपोर्ट पोजिटिभ आएको डा.उपाध्यायले बताए । गत जेठ १४ मा भारतबाट फर्किएका उनीहरुलाई सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

कालिकामाई गाउँपालिकाका स्वास्थ्य प्रमुख योगेन्द्र चौरसियाका अनुसार संक्रमित हुनेमा कालिकामाई २ भेडियारी निवासी ३० वर्षीय र ४५ वर्षीय पुरुष, वडा एक तीनडोबियाका एक ३० वर्षीय र एकजना वडा ५ विरन्चीबारवाका १६ वर्षीय युवक रहेका छन् । ‘८ दिन अगाडि भारतबाट फर्किएका उनीहरुलाई कालिकामाई गाउँपालिकाको हरिहरपुर विर्तामा रहेको क्वारेन्टाइनमा राखिएको थियो,’ उनले भने, ‘गत आइतबार २१ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो, जसमध्ये चारजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको छ ।’

सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य प्रमुख राजेश रौनियारले गत जेठ १४ मा भारतको लुधियाना र बनारसबाट फर्किएका दुई जनामा कोरोना संक्रमण भएको बताए । ‘सखुवाप्रसौनी गाउँपालिका–२ गुलरिया टोलका ४९ वर्षीय र जमुनियाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो,’ उनले भने, ‘गत सोमबार देउरवानाको क्वारेन्टाइनमा रहेका २४ जनाको स्वाब संकलन गरिएको थियो, जसमध्ये दुई जनामा पोजेटिभ आएको हो ।’

यसैगरी मंगलबार साँझ विन्दवासनी गाउँपालिकाको झौवास्थित क्वारेन्टाइनमा रहेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : जेष्ठ २१, २०७७ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?