महोत्तरीको क्वारेन्टाइनमा थलिएका बिरामीले पाएनन् उपचार 

स्वास्थ्य चौकीले दिएन एम्बुलेन्स, पालिकाका अध्यक्ष सम्पर्कविहीन
सुनिता बराल

महोत्तरी — महोत्तरीको सम्सी गाउँपालिका–१ स्थित धानुक समाज धर्मशालाको क्वारेन्टाइनमा बिरामी भएर थलिएका एक व्यक्तिले उपचार पाउन सकेका छैनन् । ९ दिन अघि भारतबाट आएका २२ वर्षीय युवा ५ दिनदेखि ज्वरो आएर क्वारेन्टाइनमा थलिएका छन् । 

महोत्तरीको क्वारेन्टाइनमा थलिएका बिरामीले पाएनन् उपचार 

स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच नगरिदिएपछि उनलाई गाउँपालिकाले अस्पतालसम्म लैजान सकेको छैन । ५ दिनअघि थर्मल गनले जाँच गर्दा उनलाई १ सय ४ डिग्री ज्वरो देखिएको र उनको स्वास्थ्य अवस्था थप जटिल बन्दासमेत उपचारमा लान नसकिएको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताए ।

उनलाई ज्वरो बढ्दै गएको र बान्ता गर्ने, छाती दुख्ने, खोकी लाग्ने लक्षण देखिएपछि उनको स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीलाई पत्र समेत पठाएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यकर्मीले जाँच गर्न नमानेको र उनलाई अस्पताल लैजान पर्सा देवार्ड स्वास्थ्य चौकीले एम्बुलेन्ससमेत नदिएको वडा नम्बर–१ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विपिन विहारी यादवले बताए ।

कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि सँगै क्वारेन्टाइनमा बस्ने अन्य व्यक्तिसमेत डराएका छन् । बिरामीलाई अन्य सवारीले अस्पताल लैजान नमानेको र सम्सी गाउँपालिकाकै पर्सा देवार्ड स्वास्थ्य चौकीको एम्बुलेन्समा समेत क्वारेन्टाइनको बिरामी नबोक्नु भन्ने डाक्टरको आदेश छ भन्दै एम्बुलेन्स चालकले बिरामी अस्पताल लैजान नमानेका कारण उनलाई अस्पताल लैजान नसकिएको यादवले बताए ।

पर्सा देवार्ड स्वास्थ्य चौकीका प्रमुख डाक्टर रबिन मण्डल भने अहिले स्वास्थ्य चौकीमा छैनन् । उनले क्वारेन्टाइनको समस्यालाई बेवास्ता गर्दै मोबाइलसमेत अफ राखेका छन् । स्वास्थ्य चौकीका एम्बुलेन्स चालक सञ्जय साहले ‘अहिले डाक्टर बाहिर जानुभएकाले मोबाइल अफ भएको र उहाँले क्वारेन्टाइनका बिरामी नबोक्नु भनेकाले आफूले बिरामी बोक्न नसकेको’ बताए ।

क्वारेन्टाइनको राम्रो व्यवस्थापन नहुँदा बिरामी भएकै कोठामा अन्य ५ जनालाईसँगै राखिएको छ । बिरामी थलिँदै गइसक्दा पनि स्वास्थ्य जाँच हुन नसकेपछि बिरामीको परिवार र क्वारेन्टाइनमासँगै बस्ने व्यक्तिले उनको स्वास्थ्य जाँच गरी उपचार गरिदिन गाउँपालिकालाई आग्रह गरेका छन् ।

यता गाउँपाकिकाका अध्यक्ष शेष फारुक भने कोरोना नियन्त्रणमा लाग्नुपर्ने समय गाउँपालिकाका सबै निर्णयलाई वेबास्ता गर्दै वेखबर बसेका छन् । गाउँपालिकामा भोकमरी फैलँदै गएसँगै क्वारेन्टाइन अस्तव्यस्त हुँदा समेत पालिकाका अध्यक्ष सम्पर्कमा आएका छैनन् । गाउँपालिका अध्यक्ष नै निष्क्रिय अवस्थामा बसेकाले सम्सीमा क्वारेन्टाइन व्यवस्थापन गर्न निकै कठिन अवस्था सिर्जना भएको प्रवक्ता यादवले बताए । पालिकामा भारतबाट आएका १ हजार व्यक्तिमध्ये अहिलेसम्म आइतबार जम्मा ९० जनाको मात्रै स्वास्थ्य जाँच गरिएको यादवले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?