१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सप्तरीका पालिका प्रमुखहरु असन्तुष्ट, क्‍वारेन्टाइन व्यवस्थापन छोड्ने चेतावनी

स्थानीय प्रशासनले मापदण्डको पालना नगरेको र सुरक्षाकर्मीले पनि सहयोग नगरेकोमा उनीहरु असन्तुष्ट छन् ।
अवधेशकुमार झा

राजविराज — स्थानीय प्रशासनले मापदण्डको पालना नगरेको भन्दै सप्तरीका पालिका प्रमुखहरुले क्‍वारेन्टाइन व्यवस्थापन छोड्ने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित बैठकमा उनीहरुले कोभिड–१९ सम्बन्धी व्यवस्थापनमा प्रशासनले आफ्नो जिम्मेवारी पालना नगरेको आरोप लगाए ।

सप्तरीका पालिका प्रमुखहरु असन्तुष्ट, क्‍वारेन्टाइन व्यवस्थापन छोड्ने चेतावनी

‘क्‍वारेन्टाइन व्यवस्थापनको जिम्मा स्थानीय तहको मात्र होइन,’ हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले भने, ‘निर्देशिका र मापदण्डमा सुरक्षा निकायले गर्नुपर्ने काम पनि हामीले गरिरहनुपरेको छ, जसका कारण क्‍वारेन्टाइन सञ्चालन गर्न समस्या भइरहेको छ ।’

‘कोरोना भाइरससम्बन्धी क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डमा उल्लिखित व्यवस्थाको पूर्ण रुपमा पालना स्थानीय प्रशासनबाट नदेखिएकाले नेपाल सरकारबाट निर्देशित जारी मापदण्डअनुसार गर्न गराउन अनुरोध गर्ने, सो नभएकामा स्थानीय तहहरुबाट क्‍वारेन्टाइन व्यवस्थापनमा सहजता दिन नसक्ने देखिएकाले सोको जानकारी स्थानीय प्रशासन, प्रदेश सरकार र केन्द्रीय सरकारलाई दिने,’ स्थानीय तह प्रमुखहरुले बैठकको निर्णयमा भनिएको छ ।

कोरोनाविरुद्ध लड्ने जिम्मेवारी आफूहरुको मात्र नरहेको प्रमुखहरुको भनाइ छ । ‘मापदण्डअनुसार सेना, प्रहरी र स्थानीय प्रशासनले किन जिम्मेवारी पूरा नगर्ने ?’ साहले भने, 'क्‍वारेन्टाइन सञ्चालन गर्न लाग्ने खर्च तिर्न स्थानीय तह मापदण्डअनुसार तयार भए पनि सञ्चालन, नियन्त्रण प्रशासनको तर्फबाट हुनुपर्छ ।'

क्‍वारेन्टाइन व्यवस्थापनमा सुरक्षाकर्मीबाट समेत असहयोग भएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादले बताए ।

पालिका प्रमुखहरुको बैठकले जिल्लामा पीसीआर परीक्षण किटको अभाव देखिएकाले पर्याप्त मात्रामा किट उपलब्ध गराउन सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ । बैठकमा गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले राजविराजमा पीसीआर मेसिन जडान भए पनि अहिले पूर्ण रुपमा रनिङ हुन केही समय लाग्ने बताए ।

प्रमुखहरुले जिल्लामा चोरीतस्करी बढेको निष्कर्षसमेत निकालेका छन् । बैठकमा सहभागी जिल्लाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले सप्तरीमा कुल ९ सय ५६ प्रहरी दरबन्दी रहेकोमा ३ सय ५० जनशक्ति अभाव रहेको बताए । बैठकको अध्यक्षता गरेका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले सबै निकाय निर्देशिका र मापदण्डअनुसार चल्नुपर्ने बताउँदै स्थानीय तह एक्लै कोरोनासँग लड्न नसक्ने बताए ।


प्रकाशित : जेष्ठ १९, २०७७ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?