३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयद्वारा आक्रमण प्रयास

हवाई फायर गरी भीड तितरबितर
ओमप्रकाश ठाकुर

सर्लाही — भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकामा भारतीय समूहले आइतबार बिहान ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास गर्दा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । 

विष्णु गाउँपालिका–५ फेनरा बजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट(बीओपी)मा आक्रमणसहित हतियारसमेत खोस्ने प्रयास भएपछि तत्काल हवाई फायर गरेर भारतीय समूहलाई भगाइएको सशस्त्र प्रहरीले जनाएको छ । आइतबार बिहान एक भारतीय व्यापारी सामान लिएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।

त्यसलगत्तै ती व्यापारी नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै ३०–३५ जनाको समूहमा आएका थिए । समूहमा आएका भारतीयहरु सीमामा खटिएका प्रहरीलाई यस्ता हतियार हामीसँग पनि छन् भन्दै ढुंगामुढा गर्दै हतियार खोस्न खोजेपछि ड्युटीमा खटिएको प्रहरीले हवाई फायर गरेर भीड तितरबितर पारेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । उनले स्थिति नियन्त्रणभन्दा बहिर जान थालेपछि प्रहरीले हवाई फायर खोल्नुपरेको बताए ।

घटनालगत्तै सशस्त्र प्रहरी र भारतका सीमा सुरक्षा बलका अधिकारी घटनास्थल पुगेका छन् । प्रहरीले लकडाउनको समयमा सीमामा आक्रमणको प्रयास गर्नेको खोजी भइरहेको जनाएको छ । ‘भारतीय व्यापारीले समूह बनाएर सीमामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि एकछिन अवस्था असामान्य बनेको थियो, हामीले एक राउण्ड हवाई फायर खोलेपछि अवस्था समान्य बनेको छ,’ सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले भने, ‘भारतीय सीमा सुरक्षा बलको सहयोगमा आक्रमण गर्नेको खोजी भइरहेको छ ।’

खुला सीमाका कारण यसक्षेत्रमा पहिलादेखि नै तस्करी हुँदै आएको छ । लकडाउन र सीमा सिल भएपछि तस्कर तथा व्यापारीहरु सीमामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?