सिरहामा थप ११ जनामा कोरोना संक्रमण- प्रदेश २ - कान्तिपुर समाचार

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

भरत जर्घा मगर

सिरहा — सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु हुन् । 

लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ र कल्याणपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या २५ पुगेको छ ।

संक्रमित ११ जना भारतका विभिन्न स्थानबाट आई आ–आफ्ना नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको जेठ ११ र १२ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो । संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए ।

यसअघि जिल्लाको भगवानपुर गाउँपालिकामा ४, बरियारपट्टी गाउँपालिकामा ४, लक्ष्मीपुर पतारी, औरही, नवराजपुर र सखुवानन्कारकट्टी गाउँपालिकामा १/१ जना र जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत दुई प्रहरी हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार जिल्लामा संक्रमण पुष्टि भएका २५ मध्ये २१ जना भारतबाट घर आएकाहरु हुन । भारतका विभिन्न स्थानमा रोजगारीका लागि गएका मजदुरहरु पछिल्लो समय घर आउने क्रम बढेकाले संक्रमितको संख्या अझै बढने अनुमान गरिएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

जो स्वदेश फर्कन मध्यरातमा घस्रि‌ंदै मेची तरे

घर पुग्दा ११ बजेको थियो । उनले घरको आँगनमा टेक्न मात्रै पाए । मेचीनगर-४ का वडाध्यक्ष नवीन बराललाई घर आएको जानकारी गराए । सुरक्षाकर्मी र वडाध्यक्षको टिमले राति नै उनलाई स्थानीय पशुपति माविको क्वारेन्टाइनमा लगेर राख्यो ।
पर्वत पोर्तेल

काँकडभिट्टा — लकडाउनअघि झापा, मेचीनगर–४ बाहुनडाँगीका वीरबहादुर आले मगर कोलकाताको एउटा फास्टफुड रेस्टुरेन्टमा काम गदैर् थिए । कोरोना संक्रमणका कारण उनी कार्यरत सहर कोलकातामा लकडाउन भयो । त्यहीबेला  वारि नेपालतिर पनि लकडाउन सुरु भइसकेको थियो । 

लकडाउनपछि कोलकाता चकमन्न बन्यो । सबै व्यापार–व्यवसाय ठप्प भए । वीरबहादुर कार्यरत फास्टफुड पनि बन्द भयो । लकडाउनका करिब डेढ महिना उनले सुनसान कोलकातामा बिताए । दिन बित्दै गयो । खाना खाने पैसासमेत सकियो । अनि घर फर्किने निर्णयमा पुगे उनी ।

तर साथमा घर फर्किने खर्च थिएन । चेन्नईमा भएका आफ्ना मान्छेलाई खर्च पठाउन लगाएर गत हप्ता उनी चढे कोलकाताको सरकारी बस । लकडाउनका बेला पनि कोलकाताका सरकारी बसहरु फाट्टफुटट चल्दै थिए । त्यही बसको २४ घन्टा लामो यात्रापछि उनी आइपुगे सिलिगुडी ।

‘सिलिगुडी ओर्लिएपछि आनन्दको सास फेरें,’ उनले सुनाए । सिलिगुडी पनि चकमन्न थियो । सवारी चलेका थिएनन् । घरसम्म कसरी पुग्ने होला भन्ने चिन्ता छँदैथियो । अन्तत: झोला भिरेर हिँडे । सिलिगुडीदेखि करिब २० किलोमिटर वर आइपुगेका थिए । भारतीय प्रहरीले लखेट्यो । प्रहरीले भन्यो, ‘जहाँबाट आको हो त्यतै फर्की ।’ उनी अलमलमा परे । फर्किने या जाने उनी समस्यामा परे ।

फर्किएर अलि वर आइपुगेका थिए । एक जना चौकीदारले वैकल्पिक वाटो सुझाए । त्यसपछि गेस्टापुर चिया बगानभित्र भित्रै हिँडेर उनी नक्सलबारी पुगे । करिब १० किलोमिटर लामो यात्रापछि नक्सलबारी पुगेका उनलाई त्यहाँ पनि प्रहरीले रोक्यो । कता हिँडेको भनेर सोध्यो । ‘मैले नेपाल हिँडेको भनेपछि लाठी उज्यायो,’ उनले सुनाए, ‘त्यसपछि टाप कसेँ ।’ उनलाई त प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राख्ला कि भन्ने ठूलो त्रास थियो, तर उनले सोचेको जस्तो भएन ।

नक्सलबारीबाट बाहुनडाँगीको दूरी बढीमा ५ किलोमिटर छ । नक्सलवादी आन्दोलनको उद्गमस्थल नक्सलबारी सीमावर्ती नेपालीको पुरानो बजार पनि हो । नक्सलबारीबा लुकिछिपी उनी भारत–नेपालको सिमाना मेची नदी नजिकै पुगे । त्यसबेला रातको आठ बजिसकेको थियो । सीमामा तैनाथ एसएसबीले देख्ला कि भन्ने त्रास त थियो नै, त्योभन्दा पनि ठूलो डरचाहिँ हात्तीले मार्ला कि भन्ने थियो । त्यो रात नजिकै हात्ती पनि आएको थियो । उनले हात्तीवाट समेत ज्यान जोगाउनु थियो ।

सीमानजिक पुगेपछि यिनले थोत्रो झोलबाट झोला जस्तै थोत्रो पाइन्ट झिके र लगाइरहेको पाइन्टमा खप्टिएर लगाए । त्यसपछि सर्प जसरी घस्रिन सुरु गरे । ‘हिँड्दै गएको भए एसएसबीले देखेर भारततिरै फर्काइदिन्छ भनेर घस्रिँदै गएँ’, उनले देश फिर्दाको कष्ट सुनाए,‘घरिघरी लाइट बालेर चियाउँथेँ, लुक्थेँ फेरि घस्रिन्थेँ ।’

करिब तीन घन्टासम्म घस्रिँदै उनी मेची तरे । पारि पनि नाकामा पहरा दिएर बसेका थिए सुरक्षाकर्मी । ती सुरक्षाकर्मीको पनि आँखा छले । ‘घर पुग्दा ११ बजेको थियो’, उनले भने, ‘घरको आँगनमा टेक्न मात्रै पाएँ ।’

उनले मेचीनगर ४ का वडाध्यक्ष नवीन बराललाई घर आएको जानकारी गराए । उनलाई सुरक्षाकर्मी र वडाध्यक्षको टिमले राति नै स्थानीय पशुपति माविको क्वारेन्टाइनमा लगेर राख्यो । ‘आफ्नो देश फर्किन यस्तो संघर्ष गर्नु पर्ला भन्ने सोचेकै थिइनँ’, उनले थपे, ‘मैले मेरो देश फर्किन किन नपाउने ?’

प्रकाशित : जेष्ठ १७, २०७७ १४:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×