प्रयोगशालाले लिन नमान्दा सप्तरीमै थन्किए २ सय स्वाब नमुना

आइतबारदेखि जिल्लामै पीसीआर परीक्षण अघि बढाउन प्रदेश सरकारले दियो ५० लाख 
अवधेशकुमार झा

राजविराज — कोरोना परीक्षणका लागि सप्तरीमा संकलित दुई सय जनाको स्वाब नमुना जिल्लामै थन्किएको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगर, जनकपुर र काठमाडौंका कुनै प्रयोगशालाले ती स्वाब लिन मानेका छैनन् ।

प्रयोगशालाले लिन नमान्दा सप्तरीमै थन्किए २ सय स्वाब नमुना

‘न धरानले लिन्छ न त विराटनगर, जनकपुर र टेकुले,’ जिल्ला स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले भने, ‘शुक्रबारदेखि २ सय जना जनाको स्वाब संकलन गरी राजविराजमै राखिएको छ ।’ सप्तरीमा अहिलेसम्म १ हजार २ सय ७९ जनाको स्वाब संकलन गरिएकोमा ५ सय ५५ जनाको नतिजा आउन बाँकी छ । यहाँ ४२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यसैबीच प्रदेश सरकारले उपलब्ध गराएको पीसीआर मेसिनबाट आइतबारदेखि राजविराजमै स्वाब परीक्षण गर्ने तयारी थालिएको छ । मेसिन जडान अन्तिम चरणमा रहेको र गजेन्द्रनारायण सिंह अस्पतालमै कोरोना परीक्षण गर्ने तयारीमा जुटेको अस्पताल प्रमुख डा. चुमनलाल दासले जानकारी दिए ।

पीसीआर मेसिन सञ्चालनपूर्व गर्नुपर्ने तयारी र जनशक्ति व्यवस्थापनका लागि प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार गजेन्द्रनारायण सिंह अस्पताललाई ५० लाख रुपैयाँ प्रदान गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले अस्पतालप्रमुख दासलाई चेक हस्तान्तरण गरे । मन्त्री साहले रकमका कारण कुनै पनि काम नरोकिने बताए । ‘उच्च मनोबलका साथ काम गर्नुस्, प्रदेश सरकार हरेक सहयोग गर्न तयार छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १७, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?