१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रदेश २ का संक्रमितको तथ्यांक फरक-फरक

अजित तिवारी

जनकपुर — भारतमा रहेका नेपालीहरु फर्किएसँगै प्रदेश–२ मा कोरोना भाइरस संक्रमितको संख्या देशभरमै उच्च पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बिहीबार मात्रै प्रदेश–२ का ९३ जना थप संक्रमित पुष्टि भएको जनाएको छ । योसँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय १५ पुगेको छ ।

प्रदेश २ का संक्रमितको तथ्यांक फरक-फरक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार प्रदेश–२ को धनुषामा २९ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना, रौतहटमा २० जना र महोत्तरीमा १७ जना थप संक्रमित भेटिएको हो । तर, प्रदेश–२ को समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बिहीबार ३ बजेर ३० मिनेटमा गरेको मिडिया ब्रिफिङमा प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ४ सय मात्र रहेको दाबी गरेको छ । समाजिक विकास मन्त्रालयले भने बिहीबार प्रदेश–२ मा ७६ जना संक्रमित मात्र थपिएको दाबी गरेको छ ।

जनकपुरस्थित प्रदेश–२ को प्रहरी कार्यालयले भने २ सय ४९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी प्रदेश २ मा कोरोना भाइरस संक्रमित रहेको तथ्यांक राखेको छ । प्रहरीको यो तथ्यांकमा निको भएकाहरुको संख्या जोडिएको छैन । प्रदेश–२ मा हालसम्म ९८ जना निको भइसकेका छन् ।

प्रदेश–२ को समाजिक विकास मन्त्रालयले बिहीबारसम्म तयार पारेको तथ्यांकअनुसार सप्तरीमा २९ जना, सिरहामा १४ जना, धनुषामा ४१ जना, महोत्तरीमा २३ जना, सर्लाहीमा ४१ जना, रौतहटमा सबैभन्दा बढी १ सय ९ जना, बारामा ४९ जना र पर्सामा ९१ जना कोरोना भाइरस संक्रमित छन् । यस्तै, अन्य ठाउँ ठेगाना भएपनि प्रदेश–२ मा रहेका थप ३ जना पनि कोरोना संक्रमित रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश–२ मा २ सय १२ जनाको आइसोलोसनमा उपचार भइरहेको छ ।

प्रदेश–२ मा बिहीबारसम्म ११ हजार जनाको स्वाब परीक्षणका लागि संकलन गरिएको छ । जसमध्ये १ हजार ६ सय २० जनाको नतिजा आउन बाँकी छ । स्वाब संकलन गरिएकामध्ये ८ हजार ९ सय ८० जनाको नतिजा नेगेटिभ आएको छ । ‘हाम्रो तथ्यांकअनुसार प्रदेश–२ मा कूल संक्रमितको संख्या हालसम्म ४ सय नै छ,’ समाजिक विकास मन्त्रालयका सचिव घिमिरेले भने ।

प्रदेश–२ मा बिहीबारसम्म १५ हजार ४२ जना क्वारेन्टाइनमा छन् । ५ हजार ५ सय २ जना होम क्वारेन्टाइनमा रहेको सचिव घिमिरेले जानकारी दिए ।

लकडाउनयता भारतबाट १७ हजार ४ सय २१ जना मानिस प्रदेश–२ मा भित्रिएको प्रदेश–२ प्रहरी कार्यालयका इन्सपेक्टर तिलक सुनारले जानकारी दिए । उनले जेठ १ गतेयता प्रदेशका विभिन्न नाकाबाट मात्रै ८ हजार ६ सय ५ जना भित्रिएको बताए । बिहीबार मात्र २ हजार ९ सय ३५ जना भारतबाट प्रदेश–२ मा आएका हुन् । लकडाउनयता भने प्रदेश–२ को विभिन्न जिल्लाबाट भारत जानेको संख्या १ हजार ५ सय १९ मात्र छ ।

‘स्वास्थ्य मन्त्रालयको मिडिया ब्रिफिङमा प्रदेश–२ को संक्रमितको संख्या त्रृटिपूर्ण छ,’ समाजिक विकास मन्त्रालयका सचिव घिमिरेले भने, ‘१५ जनाको थप संख्या मिस्टेक्ली आएको देखिन्छ । यसअघि पनि संख्या तलमाथि भएको थियो । हामीले स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएर सच्याएका थियौं ।’

एकै गाउँका १८ संक्रमित

धनुषाको लक्ष्मीनिया गाउँपालिकाका १८ जनामा बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु १८ वर्षदेखि ५७ वर्षसम्मका छन् । एकैगाउँका यी १८ जना भारतबाट फर्किएका हुन् ।

समाजिक विकास मन्त्रालयका अनुसार भारतबाट फर्किएका उनीहरुलाई लक्ष्मीनिया गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको थियो । संक्रमित पुष्टि भएपछि क्वारेन्टाइनलाई सिल गरेर गरिएको छ ।

उता, सिरहाका ३ गाउँपालिकामा बिहीबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बरियारपट्टी गाउँपालिकामा चारजना, लक्ष्मीपुर पतारी र औरही गाउँपालिकामा १/१ गरी ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए । योसँगै जिल्लामा कोरोनाबाट संक्रमितको संख्या १४ पुगेको छ ।

स्वास्थ्य प्रमुख यादवका अनुसार बिहीबार संक्रमण पुष्टि भएका बरियारपट्टी गाउँपालिकाका १८, १८, २५, ४० वर्षीय गरी चारजना, लक्ष्मीपुर पतारी गाउँपालिकाका १८ वर्षीय पुरुष र औरही गाउँपालिकाका ३२ वर्षीय पुरुष गरी ६ जना छन् ।

प्रकाशित : जेष्ठ १६, २०७७ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?