१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमै (तस्बिरहरु)

शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाले समयमा क्वारेन्टाइनको व्यवस्था गर्न नसक्दा भारतबाट घर फर्केकाहरु रातभर खुला चौरमा सुत्न बाध्य भएका छन् । पालिकाको ३, ९, १०, ४, ८ र ६ नम्बर वडाका ५१ जनालाई वडा अध्यक्ष रवि देवकोटाले सीमा क्षेत्र गएर बुधबार दिउँसो ल्याएका थिए । उनीहरुले चौरमै त्यत्तिकै रात बिताए । कोहीले ट्रक मुनि बसेर रात कटाए । उनीहरुलाई सिधै महिला फुटबल एकेडेमीको क्वारेन्टाइनको चौरमा रातभर अलपत्र पारियो ।

क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमै (तस्बिरहरु)
क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमै (तस्बिरहरु)

उनीहरु भारतबाट सीमा क्षेत्र आएर त्यहीँको क्वारेन्टाइनमा बसेको जानकारी डेढ साताअघि नै मेयर रामचन्द्र चौधरीलाई गराइए पनि उनले बेवास्ता गरेकाले क्वारेन्टाइन बस्न नपाएर रातभर बिजोग भएको वडा अध्यक्षको आरोप छ । उनीहरुलाई चौरमै छाडेर मेयर चौधरी साँझ घर गएका थिए । उनीहरु बसेको चौरमा सुरक्षाकर्मीले रातभर पहरा दिएका थिए । कोभिड–१९ को संक्रमण बढेपछि भारतको विभिन्न सहरबाट कष्टसँगले सीमाक्षेत्र आइपुगेका उनीहरुलाई त्यहीँ क्वारेन्टाइनमा राखिएको थियो । यहाँ आउँदा बस्ने ठाउँ नभएको एक युवकले बताए । ‘रातभरि खुला चौरमा सुत्नुपर्‍यो । नगरपालिकाले बेवास्ता गरेकोले सास्ती भोग्नु पर्‍यो,’ उनले भने, ‘समाज र घरपरिवारका लागि भनेर घर नगइ क्वारेन्टाइन बस्न आएका हौँ । रहरले होइन । बस्ने व्यवस्था छैन भने घरमै जान्छाैँ।’

क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमै (तस्बिरहरु)

डेढ साताअघि नै जिल्ला प्रशासनले प्रत्येक नगरपालिकाले ५ सय बेडको क्वारेन्टाइन बनाउन पत्रचार गरेको थियो । ‘भारतमा कोरोनाको संक्रमण बढेपछि ज्यान जोगाउन घर आएकाहरु क्वारेन्टाइन नभएर छटपटिएका छन्,’ उनले भने, ‘डेढ साताअघि देखि क्वारेन्टाइन बनाउन भने पनि मेयर चौधरीले केही गर्नुभएन । अहिले आएर बिजोग भएको छ ।’ चन्द्रपुरमा महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्वारेन्टाइन बाहेक अर्को विकल्प खोजिएको छैन । त्यहाँ ५० देखि ७० जनाभन्दा बढीलाई राख्ने ठाउँ छैन । मेयर चौधरीले अर्को क्वारेन्टाइन बनाउन लागिएको बताए । उनले नगरपालिकामा बैठक बसेको र चाँडै अर्को क्वारेन्टाइनको टुंगो लगाउने सुनाए ।

क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमै (तस्बिरहरु)

यता क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापन र खानपानमा समस्या भएको छ । ‘क्वारेन्टाइनमा पानीको समेत व्यवस्था छैन,’ धमौरा क्वारेन्टाइनका एक युवकले भने, ‘बिजोग छ हाम्रो ।’ धेरैले घरबाटै खाजा र खाना मगाएर खाने गरेको छ । क्वारेन्टाइनभित्र सुत्ने व्यवस्था नभएकाले केहीमा त्रिपाल र प्लास्टिकमाथि तन्ना ओछयाएर भुईमा सुत्ने गरेका छन् । कोही विद्यालयको बरण्डा, र कोही चौरीमै सुत्ने गरेको छन् । अहिले रौतहटका विभिन्न पालिकाका ४६ क्वारेन्टाइनमा ३ हजार ५ सय बसेका छन् ।

क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमै (तस्बिरहरु)

क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमै (तस्बिरहरु)

क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमै (तस्बिरहरु)

क्वारेन्टाइनमा बस्न आएकाहरु रातभर चौरमै (तस्बिरहरु)


प्रकाशित : जेष्ठ १५, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?