कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विदेशबाट फर्कनेका लागि विशेष प्याकेज माग्दै संघलाई मुख्यमन्त्री राउतको पत्र

कोरोना संक्रमणका कारण विदेशमा रहेका प्रदेश २ का १० लाख युवा फर्कने तयारीमा रहेको पत्रमा उल्लेख गरिएको छ 
अजित तिवारी

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले वैदेशिक रोजगारीमा रहेका प्रदेशभरिका १० लाख युवा कोरोना महामारीका कारण घर फर्किन लागेको भन्दै उनीहरूको व्यवस्थापनका लागि संघीय सरकारसित विशेष आर्थिक प्याकेज माग गरेका छन्

विदेशबाट फर्कनेका लागि विशेष प्याकेज माग्दै संघलाई मुख्यमन्त्री राउतको पत्र

उनले प्रदेश युवा रोजगार कार्यक्रम र कृषिमा विशेष उत्पादन अभियानका लागि आर्थिक प्याकेज उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार पत्र लेखेका हुन् । पत्रमा ‘प्रदेशका जनताको जीविकोपार्जनको माध्यम कृषि र कृषिभूमिको उपलब्धता हेरेर युवा रोजगार कार्यक्रम र उत्पादन अभियानका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराइदिन’ अनुरोध गरिएको छ ।

प्रदेश २ सरकारले लकडाउनको अवधिमा खाद्यान्नसहितको राहतको प्याकेजसमेत ल्याउन संघीय सरकारलाई अनुरोध गरेको छ । पहिलो चरणमा स्थानीय तहमार्फत र दोस्रो चरणमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत राहत वितरण गरिएको थियो । ‘लकडाउनको अवधि थपिँदै जाँदा भौगोलिक अवस्था, जनसांख्यिक बनोट, मानव विकास सूचकांक र सामाजिक विकासको अवस्थासमेतका आधारमा प्रदेश सरकारले मात्रै खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकाले संघीय सरकारबाट ठोस कार्यक्रम ल्याउन अनुरोध छ,’ मुख्यमन्त्री राउतले लेखेका छन् ।

पत्रमा भीटीएमलगायत स्वास्थ्य सामग्रीको नियमित आपूर्ति नहुँदा कोरोना परीक्षण अपेक्षाकृत हुन नसकेको उल्लेख गरिएको छ । कोरोना परिक्षणका लागि प्रदेश २ का ३ स्थानमा रियल टाइम पीसीआर मेसिन जडान गरिएको छ । ‘परीक्षणको संख्या बढाएर क्वारेन्टाइनमा रहेका नागरिकको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेकाले संघीय सरकारसँग दक्ष जनशक्ति र भीटीएमलगायत उपकरण तथा स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराइदिन अनुरोध छ,’ पत्रमा भनिएको छ । प्रधानमन्त्रीलाई कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले गरेका कामबारे समेत अवगत गराइएको छ । जसअनुसार प्रदेश २ मा १६ हजार ९ सय १४ बेड क्षमताका ३ सय १ वटा क्वारेन्टाइन, आठवटै जिल्लामा ६ सय ४५ बेड क्षमताका आइसोलोसन कक्ष निर्माण गरिएको छ । प्रादेशिक अस्पताल जनकपुरलगायतलाई लेभल २ को कोभिड विशेष अस्पताल तोकी संक्रमितको उपचार भइरहेको छ ।

‘प्रदेशका आठवटै जिल्ला भारततर्फको खुला सीमासँग जोडिएका छन् । प्रदेशका जनता भारतमा विभिन्न रोजगारी तथा व्यवसायमा आबद्ध छन्,’ पत्रमा लेखिएको छ, ‘उनीहरू स्वदेश फर्किने क्रममा संक्रमण फैलिने सम्भावना बढेको छ । त्यसैले उनीहरूलाई व्यवस्थित रूपमा स्वदेश फर्काउने वातावरण बनाउन आवश्यक छ ।’

प्रकाशित : जेष्ठ १५, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?