मृत्यु भएकी गर्भवतीको पीसीआर रिपोर्ट नेगेटिभ

अवधेशकुमार झा

राजविराज — अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएकी सप्तरी कन्चनरुप नगरपालिका ११ की २४ वर्षीया गर्भवतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना संक्रमणको शंकामा होम आइसोलेसनमा रहेकी ती महिलाको मंगलबार बिहान मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जनाए ।

१० दिन अगाडि ती महिलालाई ज्वरो १०० दशमलव २ डिग्री आएको र स्वास लिन समस्या भएपछि गर्भवती महिलालाई गत जेठ ८ गते राजविराजस्थित एक क्लिनिकमा उपचारका लागि ल्याइएको थियो । स्वास्थ्य प्रमुख विनिता यादवका अनुसार उनलाई पिसाबको संक्रमण भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए । ती महिलाको मंगलबार साँझ अन्त्येष्टि गरिएको छ ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा परिवारका ५ सदस्यले पीपीई लगाएर स्थानीय सुन्दरी खोलामा उनको अन्तिम संस्कार गरिएको हो ।

प्रकाशित : जेष्ठ १४, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?