रक्सौलका क्वारेन्टाइनबाट फर्कंदै नेपाली

रक्साैलका क्वारेन्टाइनमा रहेका करिब ४ सय नेपालीमध्ये बुधबार बिहान १ सय १ जना स्वदेश भित्रिएका छन्
भूषण यादव

वीरगन्ज — लकडाउनका कारण लामो समयदेखि सीमावर्ती भारतीय सहर रक्सौलको क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । बुधबार बिहान पहिलो लटमा १ सय १ जना नेपाल भित्रिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

रक्सौलका क्वारेन्टाइनबाट फर्कंदै नेपाली

मुख्य नाकामा सुरक्षाकर्मीले उच्च सतर्कतासाथ उनीहरूको विवरण लिएका थिए । स्वास्थ्यकर्मीले तापक्रम जाँचेका थिए । शंकराचार्य गेटनजिकै बनाइएको टेन्टमा खाने पानी, बिस्कुट र मास्कको व्यवस्था गरिएको थियो ।

रक्सौलका क्वारेन्टाइनमा भारतका विभिन्न राज्यमा रोजगारी, तीर्थाटनका लागि गएका २५ जिल्लाका करिब ४ सय नेपाली छन् । त्यहाँको हजारीमल विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका नेपालीलाई बुधबार वीरगन्ज नाकाबाट स्वदेश भित्र्याइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जनाए । ‘बिहान पहिलो लटमा १ सय १ जना नेपाली भित्रिएका छन्,’ उनले भने, ‘रक्सौलमा ३ सय ५० देखि ४ सय नेपाली क्वारेन्टाइनमा छन् । उनीहरूलाई पनि स्वेदश फर्काउने योजना छ ।’


आज आउनेमा पश्चिम रुकुमका २३ र दाङका २१ जना पनि छन् । उनीहरूलाई सम्बन्धित जिल्लाले नै सवारीसाधनको व्यवस्था गरिदिएकाले आजै पठाइँदै छ । रुकुम र दाङका बासिन्दालाई जिल्ला पुगेपछि अनिवार्य क्वारेन्टाइनमा बस्न सहायक प्रजिअ बस्नेतले सुझाव दिए । नजिकैका जिल्लाकालाई सम्बन्धित प्रशासनको जिम्मा लगाइने र अन्यलाई वीरगन्जकै क्वारेन्टाइनमा राखिने उनले बताए ।


यसअघि जेठ ६ मा वीरगन्जमा रोकिएका २ सय १५ भारतीय नागरिकलाई भारतीय अधिकारीको जिम्मा लगाइएको थियो । स्थानीय प्रशासनले भारतीय नागरिकलाई स्वदेश फर्काएको भोलिपल्ट रक्सौलको क्वारेन्टाइनमा रहेका २ सय २२ नेपालीलाई स्वदेश ल्याउने कार्यक्रम रहेको जनाएको थियो । तर, भारतीय पक्षको आनाकानीका कारण ७ दिनपछि मात्र नेपाली नागरिक स्वदेश फर्किएका हुन् । उनीहरूले नेपाल फर्कन पाउनुपर्ने माग राखी रक्सौलमा नाराबाजी र विरोध प्रदर्शन गर्दै आएका थिए ।


प्रकाशित : जेष्ठ १४, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?