३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रौतहटमा संक्रमितको संख्या ४७ पुग्यो

शिव पुरी

रौतहट — सोमबार रौतहटको राजपुर र ईशनाथ नगरपालिकाका २६ जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु सबै भारतबाट आएका नेपाली कामदारहरु हुन् ।

रौतहटमा संक्रमितको संख्या ४७ पुग्यो

१८ जना संक्रमितको गौरस्थित गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा उपचार भइरहेको छ ।

राजपुर नगरपालिकाका ९६ जनाको स्वाब टेष्टका लागि लगिएकोमा २४ जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । ईशनाथमा २६ जनाको स्वाब लगिएकोमा २ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका नेपाली हुन् । उनीहरु फर्किएर सिधै स्थानीय तहको क्‍वारेन्टाइनमा बसेका थिए । गत मंगलबार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा पठाइएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई राजपुरमै निर्माण भएको आइसोलेसनमा राखिने प्रजिअ घिमिरेले सुनाए । रोजगारीका लागि भारतको विभिन्‍न सहर गएकाहरु कोरोना संक्रमणका कारण धमाधम घर फर्कन थालेका छन् । पछिल्लो एक साताभित्र भारतका विभिन्‍न सहरमा रहेका २ हजार ६ सय ४० जना नेपाली कामदारहरु रौतहट भित्रिएका थिए । उनीहरु सबै स्थानीयतहको क्‍वारेन्टाइनमा छन् ।

भारतमा लकडाउन खुकुलो भएसँगै घर फर्कनेहरुको संख्या ह्वात्तै बढेको छ । कोरोना महामारीकाबीच भारतबाट कष्टसँगले फर्कनेहरु सीमामा पुगेपछि १४ दिन दिनको एकान्तबास बस्नुपर्ने बाध्यता छ । नेपाल भारत सीमा नाकाहरुमा नेपाल र सशस्त्र प्रहरीका चेकपोष्टहरु स्थापना गरिएको छ । गस्ती तथा निगरानीमा खटिएका सुरक्षाकर्मीले स्थानीय तहको सहयोगमा सीमाबाट आगन्तुकलाई सोझै क्वारेन्टाइनमा लैजाने गरेका छन् ।

प्रशासनले भारतबाट नेपाल फर्कनेको संख्या अर्झै बढ्न सक्ने अनुमान गरेको छ । सुरुमा दुवै देशमा लकडाउन जारी रहेको र सीमा सिल गरिएकाले चोरबाटो हुँदै जिल्ला प्रवेश गरेका थिए । संक्रमण फैलिन नदिन भारत सरकारले आहृवान गरेको लकडाउनका कारण ठूलो संख्यामा नेपाली कामदारहरु उतै फसकेका थिए । अहिले भारतको विभिन्‍न सहरबाट, एम्बुलेसन्स, ट्याक्टर, खाद्यान्न बोक्ने ट्रक र पैदलमा धमाधम नेपाल प्रवेश गर्न थालेका हुन् ।

छैनन् आइसोलेसन वार्ड :

राजपुर र ईशनाथ नगरपालिकामा संक्रमण देखिएका २६ जनालाई राख्ने आइसोलेसन वार्डको समस्या भएको छ । प्रजिअ घिमिरले संक्रमण भएका मध्ये राजपुर फरदहवाकालाई त्यहीँ राख्‍ने योजना रहेको बताए । ‘राजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राख्‍ने कुरा भएको छ,’ उनले भने । राजपुर स्वास्थ्य केन्द्र बर्थिङ सेन्टर हो । आइसोलेसन वार्ड बनाउँदा गर्भवति महिलाहरु प्रभावित हुने भन्दै त्यहाँ राख्‍न उचित नहुने स्थानीयले जनाएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले स्वास्थ्य केन्द्रमा संक्रमितहरुलाई राख्दा सिल गर्नुपर्ने हुनाले बर्थिङ सेन्टर आउने महिलालाई समस्या पर्ने बताए । ‘अन्य विकल्प खोज्दै छौ,’उनले भने,‘पायक पर्ने र संक्रमितहरुलाई राख्‍न उचित हुने स्थानमा आईसोलेसन वार्डको रुपमा प्रयोग गर्छौँ ।’

प्रकाशित : जेष्ठ १२, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?