वृद्धको खुट्टा भाँच्ने प्रहरी प्रदेश तानिए
वीरगन्ज — दूध लिन आएका वृद्धमाथि लाठी प्रहार गर्ने प्रहरी सहायक निरीक्षक (असई) लाई अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरमा झिकाइएको छ ।
आइतबार बिहान २ जना नातिनीका लागि दूध लिन जाँदा असई लालबाबु साहको लाठी प्रहारले वीरगन्ज महानगरपालिका १६का ६७ वर्षीय नागेन्द्र पटेलको दाहिने खुट्टा भाँचिएको थियो ।
प्रहरीको आदेश मानेर फर्किने क्रममा पछाडिबाट हिर्काएको लाठीले पटेलको खुट्टा भाँचिएको उजागर भएपछि प्रदेश २ का प्रहरी कार्यालयले असई साहलाई जनकपुर झिकाएर अनुसन्धान थालेको छ । प्रदेश २ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले प्रारम्भिक अनुसन्धानमा असई लालबाबु साहले कुटपिट गरेको पाइएको बताए ।
‘वृद्धमाथि दुर्व्यवहार गरेको समाचार उजागर भएपछि असईलाई अनुसन्धानका लागि तानिएको हो,’ डीआईजी सिंहले भने, ‘प्रारम्भीक अनुसन्धानमा असईले कुटपिट गरेको पाइएको छ । कारबाही प्रक्रिया सुरु भइसकेको छ ।’अन्य प्रहरीलाई पनि संयमित रहन डीआईजी सिंहले निर्देशन दिएका छन् ।
असई साह वीरगन्जको नयाँ बसपार्क अस्थायी प्रहरी चौकीमा कार्यरत थिए ।
यो पनि पढ्नुहोस्ः
नातिनीलाई दूध लिन गएका हजुरबामाथि प्रहरीको लाठी, खुट्टा भाँच्चियो
प्रकाशित : जेष्ठ ६, २०७७ १९:५३