१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

रौतहटमा धेरैजसो संक्रमित भारतबाटै आएका

सोमबार पुष्टि भएकामा पनि एक महिला मात्र भारत गएकी होइनन् । उनको परिवारका अरू सबैको रिपोर्ट नेगेटिभ छ ।
शिव पुरी

रौतहट — मजदुरीका लागि भारत जानुपर्ने बाध्यता नै यति बेला जिल्लावासीमा कोरोना संक्रमणको मुख्य कारण देखिएको छ । यहाँ अहिलेसम्म कोरोनाका २१ बिरामी फेला परेका छन् । तीमध्ये धेरैजसो भारतबाट फर्किएकाहरू नै छन् । 

रौतहटमा धेरैजसो संक्रमित भारतबाटै आएका

आइतबार र सोमबार रौतहटमा १८ जना संक्रमित भेट्टिएका छन् । तीमध्ये १७ जना भारतबाटै आएका हुन् । सोमबार ईशनाथ नगरपालिकाका सात जनामा कोरोना पुष्टि भएको छ । संक्रमित अर्की महिला माधवनारायण नगरपालिकाकी हुन् । उनी भने भारत गएकी होइनन् ।

ईशनाथका संक्रमित तीन जना मुम्बईबाट, दुई जना दिल्ली तथा एक–एक हरियाणा र कानपुरबाट आएका हुन् । उनीहरू देश आइपुग्नासाथ सोझै क्वारेन्टाइनमा बसेका हुन् । संक्रमितहरू वैशाख २५, ३१ र जेठ १ गते क्वारेन्टाइनमा आएको ईशनाथ नगरपालिकाका स्वास्थ्य शाखा सहायक शशि पटेलले बताए ।

‘भारतबाट विभिन्न माध्यमबाट सीमाक्षेत्र आएर चोरबाटो नेपाल प्रवेश गरेका उनीहरू घर नगई सिधै क्वारेन्टाइन आएका थिए,’ उनले भने, ‘संक्रमितहरू समुदायमा गएका छैनन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।’ ईशनाथको जनता मावि क्वारेन्टाइनमा अहिले भारतबाट आएका ४८ जना छन् । तीमध्ये २७ जनाको शुक्रबार पीसीआर टेस्टका लागी स्वाब लगिएकोमा आइतबार १० जनामा कोरोना पुष्टि भएको थियो । .तीन जनालाई आइतबारै गौरस्थित अस्पतालको आइसोलेसन वार्डमा लगिएको छ । यो नगरमा संक्रमितको संख्या ११ पुगेको छ । सबैभन्दा पहिला भेटिएका एक जना वीरगन्जमा उपचार गराइरहेका छन् ।

सोमबार कोरोना पुष्टि भएकी माधवनारायण–२ की महिला पनि वैशाख २६ देखि क्वारेन्टाइनमा थिइन् ।भारतमा मजदुरी गर्न गएका उनका बहिनी ज्वाइँ वैशाख २५ गते ससुराली आएपछि उनीसहित परिवारका १३ सदस्यलाई क्वारेन्टाइनमा राखेर पीसीआर टेस्टका लागि स्वाब पठाइएको थियो । तर भारतबाट आएका पुरुष, उनकी पत्नी र दुईमहिने बालकको रिपोर्ट नेगेटिभ आएको छ ।

जेठीसासूमा भने संक्रमण देखिएको हो । उनको एक वर्षकी काखे छोरी र अर्की १० वर्षकी छोरी छिन् । दुवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक प्रमोदकुमार साहले बताए । यहीँ बसेकी महिलालाई संक्रमण भएको देख्दा आफूहरू आश्चर्यमा परेको उनले सुनाए ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा अहिले पनि भारतबाट फर्केका ४ सयभन्दा बढी छन् । धान काट्ने र रोप्ने समयमा ठूलो संख्यामा जिल्लाबासी रोजगारीका लागि सीमापारि जाने गरेका छन् । उनीहरू ६–७ महिनापछि फर्कन्छन् । तर अहिले भारतमा पनि संक्रमण बढ्दै गएको र लकडाउनले रोजगारी गुमेपछि सबै जना देश फर्कन हतारिएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?