कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमितको उपचार गौरमै

शिव पुरी

रौतहट — रौतहटको राजपुर र इशनाथ नगरपालिकाको दश जना कोरोना संक्रमितलाई जिल्लामै उपचारको व्यवस्था मिलाइएको छ । उनीहरुलाई आइतबार राति जिल्लाको गौर नगरपालिकास्थित गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसन वार्डमा ल्याइएको छ  ।

कोरोना संक्रमितको उपचार गौरमै

जिल्लामा कोरोना संक्रमतिको संख्या २१ पुगेको छ । सोमबार बिहान मात्रै ईशनाथ र माधवनारायण नगरपालिकामा ८ जनामा सक्रमण देखिएको छ ।

राजपुर नगरपालिका–९ का १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोनाको संक्रमण देखिएपछि उनीहरुलाई जिल्लामै उपचार सुरु गरिएको हो । त्यस्तै ईशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषलाई पनि नर्सिङ इन्स्टिच्युटको आइसोलेसन वार्डमा राखिएको छ ।

संक्रमितहरु पाँच दिनअघि मात्र भारतको मुम्बई र केरलाबाट घर आएका थिए । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले संक्रमण देखिएका सबैलाई जनकपुर वा वीरगन्ज पठाइने भन्ने छलफल भए पनि पछि आफ्नै जिल्लामा राख्ने निर्णय भएको बताए ।

‘हामीले जिल्लाकै गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसन वार्डमा दशै जनालाई उपचारका लागि ल्याएका छौं,’ उनले भने, ‘यही चिकित्सकको निगरानीमा उपचार गराइने छ । अहिले सबैको स्वास्थ्य अवस्था समान्य छ । प्रक्रियातिर लाग्दा ल्याउन ढिला भएको हो ।’ स्थानीय प्रशासनले नर्सिङ इन्स्टिच्युटमा २५ बेडको आइसोलेसन वार्ड तयारी हालतमा राखेको थियो । सुरुमा यसलाई क्वारेन्टाइनको रुपमा सञ्चालनमा ल्याइएको थियो । त्यहाँ रहेका केहीलाई अन्यन्त्र सारेर आइसोलेसन वार्ड बनाइएको हो ।

संक्रमित सबै पाँच दिनअघि मात्र भारतको मुम्बई, गुजरात र केरलाबाट घर फर्केका थिए । रोजगारीका लागि गएका उनीहरु कोभिड–१९ को संक्रमण बढ्न थालेपछि दैनिक जीवन कष्टकर बनेकाले घर फर्केका हुन् । जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा अहिले भारतबाट फर्केका ४ सय ३९ जनालाई राखिएको जिल्ला प्रशासन गौरले जानकारी दिएको छ । यसअघि वृन्दावन र देबाही र ईशनाथका ३ जना संक्रमितलाई वीरंगन्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा लगिएको थियो । सोमबार थप ८ संक्रमितलाई कहाँ राख्ने भन्ने निर्णय भइनसकेको प्रजिअ घिमिरेले सुनाए ।

प्रकाशित : जेष्ठ ५, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?