१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

संक्रमितसँगै मुम्बईबाट एउटै ट्रकमा ६० जना

पाँच दिनसम्म उनीहरू कतै बास बसेनन् । ट्रक रातदिन चलिरह्यो । कसैले आँखा झिमिक्क गरेनन् । भोकैप्यासै आएका उनीहरूले मोतीहारीमा बल्ल बिस्कुट खान पाए ।
शिव पुरी

रौतहट — जिल्लाको राजपुर नगरपालिकामा आइतबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै जना भारतको मुम्बईबाट ट्रकमा पाँच दिन लगाएर वैशाख ३१ गते सीमाक्षेत्र आइपुगेका हुन् ।

संक्रमितसँगै मुम्बईबाट एउटै ट्रकमा ६० जना

राजपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२ वर्षीय संक्रमितले आफूले ट्रकलाई ४ हजार भारु भाडा तिरेको सुनाए । रोजगारीका लागि दुई महिनाअघि मुम्बई पुगेका उनी त्यहाँ कपडामा बुट्टा भर्ने काम गर्थे ।

‘लकडाउनले गर्दा ट्रकमा महँगो भाडा तिरेर आउनुपर्‍यो, बाटोमा कुनै पसल खुलेका थिएनन्,’ उनले कान्तिपुरलाई टेलिफोनमा भने, ‘भोकभोकै आउनुपर्‍यो ।’

भारतबाट आएका उनीसहित २७ जना वैशाख ३१ देखि राजपुरको बैरियास्थित क्वारेन्टाइनमा बसेका छन् । तीमध्ये सात जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमित युवकका अनुसार वैशाख २६ गते मुम्बईबाट ६० जनाले समूह बनाई नेपाल फर्कने निधो गरे । यसका लागि उनीहरूले झन्डै २ लाख ४० हजार भारु ट्रकधनीलाई बुझाए । सर्त थियो– नेपालको सीमाक्षेत्रसम्मै पुर्‍याइदिने ।

त्यहाँबाट हिँडेपछि उनीहरू कतै बास बसेनन् । ट्रक रातदिन चलिरह्यो । कसैले झिमिक्क पनि गरेनन् । खाँदाखाँद गरेर आएकाले सुरक्षाकर्मीले फेला पारे त्यहीँ अड्किनुपर्ने चिन्ता थियो सबैलाई । तर बाटोमा कतै सुरक्षा जाँच भएन । वैशाख ३० गते उनीहरू भारतकै मोतीहारी पुगे । त्यहाँ रोकेर थर्मल गनले सबैको ज्वरो नापियो । ‘म निकै डराएको थिएँ,’ युवकले भने, ‘कोरोनाको लक्षण नभए पनि केही देखिने हो कि भन्ने लाग्यो ।’

त्यहाँबाट साँझपख हिँडेका उनीहरू भोलिपल्ट सीमाभन्दा केही वर पुगे । ट्रकचालक त्यहाँभन्दा यता आउन मानेनन् । सबै जना त्यहीँ झरे । ठूलो संख्यामा आएको देखेर भारतीय सीमा सुरक्षा बल एसएसबीले रोकेर सोधपुछ गर्‍यो । उनीहरूले आफूहरू भोकभोकै रहेको सुनाए । एसएसबीले उनीहरूलाई बिस्कुट खान दियो अनि त्यहाँबाट नेपालतिरै पठाइदियो ।

जिल्लाका विभिन्न गाउँका उनीहरू आफूलाई अनुकूल पर्ने नाकाबाट छिर्दै थिए । त्यही क्रममा केही पक्राउ परे । लुकेर खेतैखेत गाउँनजिक पुगेका केहीले घरमा फोन लगाउन थाले । तर, परिवारले नआउन र क्वारेन्टाइनमा बस्न भनेपछि उनीहरूले प्रहरीलाई खबर गरे । ‘हामीले नै प्रहरीलाई यसरी आएका छौं, अब के गर्दा ठिक होला भनेर सोधेका हौं,’ ती युवकले भने, ‘प्रहरीले क्वारेन्टाइनमा ल्याएर राखेको हो ।’ तर, क्वारेन्टाइनको बसाइ पीडादायी रहेको उनले सुनाए । कोरोनाका कारणभन्दा खान नपाएरै मरिने हो कि भन्ने चिन्ता रहेको बताउँछन् । ‘यहाँ न खानको ठेगान छ न बस्नको । औषधि–उपचार पनि छैन । रातभरि लामखुट्टेले टोकेर सुत्न दिँदैन,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी वासुदेब घिमिरले राजपुर क्वारेन्टाइनको अवस्थाबारे बुझ्ने बताए । ‘क्वारेन्टाइनमा बसाइ र औषधि–उपचारको सुविधाबारे म बुझ्छु,’ उनले भने, ‘यस्तो समस्या छ भने तत्काल समाधान गर्न भन्छु ।’

प्रकाशित : जेष्ठ ४, २०७७ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?