बारामा कार्यरत एक प्रहरीलाई कोरोना संक्रमण

लक्ष्मी साह

बारा — जिल्ला प्रहरी कार्यालय कलैयामा कार्यरत एक प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ । प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार उनीसहित अन्य ३ जना सुरक्षाकर्मी र सात जना थुनुवाको स्वाब परीक्षणका लागि ५ दिनअघि नारायणी अस्पतालमा पठाइएको थियो । 

बारामा कार्यरत एक प्रहरीलाई कोरोना संक्रमण

संक्रमित जवानमा कोरोनाका खासै लक्षणहरु नदेखिएको एसपी पंगेनीले बताए ।

संक्रमितको सम्पर्कमा आउनेहरुको कन्टयाक्ट ट्रेसिङ भइरहेको र संक्रमितलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको उनले बताए । संक्रमितको आधिकारिक पुष्टि स्वास्थ्य मन्त्रालयले गर्ने भनिए पनि आफूलाई अनौपचारिक जानकारी आइसकेको उनले बताए । प्रहरी कार्यालयको स्यानिटाइज गर्ने कार्य भइरहेको उनले बताए ।

यसैबीच शुक्रबार जिल्लाका ४२ पत्रकारसहित १ सय २ जनाको स्वाब परीक्षणको लागि कलैया अस्पतालमा लिइएको नमुना नारायणी अस्पतालले जाँचै नगरी फिर्ता पठाइ दिएको छ । स्वाब परीक्षण गर्न नसकिने भन्दै एम्बुलेन्स नै फिर्ता पठाएको कलैया अस्पतालका मेसु डा. वीरेन्द्र मण्डलले बताए । अस्पतालको आफ्नो एम्बुलेन्स बिग्रेको कारण अर्को एम्बुलेन्स भाडामा लिएर स्वाबलाई आइसमा राखेर शनिबार काठमाडौं पठाइने उनले जानकारी दिए ।

पत्रकारसहित अस्पतालका कर्मचारी, ५८ स्वास्थ्यकर्मी र २ जनाको स्वाब लिइएको थियो । जिल्लामा एक सुरक्षाकर्मी र तीन सर्वसाधारण गरी चार जनामा कोरोना पुष्टि भइसकेको छ ।

कोरोनाको संक्रमण बढिरहँदा उपचारका लागि जिल्लामा कोरोना अस्पतालको व्यवस्था छैन् । अस्पताल बनाउन महिनाअघि प्रदेश सरकार र केन्द्र सरकारबाट उपलब्ध साढे पाँच करोड रकम त्यतिकै थन्केको छ । यहाँका राजनीतिक दल, अस्पतालका अधिकारी र स्थानीय प्रशासनले ठोस निर्णयमा पुग्‍न नसक्दा अस्पताल बन्न नसकेको हो ।

जिल्लाको कलैया अस्पताल सहरको बीचमा भएकाले त्यहाँबाहेक अन्य ठाउँमा बनाउन अरू दलका नेताले सुझाएका छन् । अलमलकाबीच ठोस निर्णय नहुँदा अस्पताल बनाउने प्रक्रिया अघि बढ्न सकेको छैन ।

कलैया अस्पतालको विकल्पमा कलैयाकै एक निजी अस्पतालले सबै प्रकारका जेनेरल सेवा दिने भन्ने कलैया अस्पतालबीच सहमति भइसकेपनि कलैया अस्पताललाई कोभिड अस्पताल बनाउने योजना अहिलेसम्म सफल हुन नसकेको प्रमुख जिल्ला अधकारी रूद्रप्रसाद पण्डितले बताए ।

जनस्वास्थ्य प्रमुख राजकिशोर पण्डितले प्रदेश सरकारले जनस्वास्थ्य कार्यालयलाई प्रभावित बनाउने गरी कोभिड अस्पताल बनाउन थालेपछि जिल्लामा त्यसको विरोध भएको बताए ।

प्रकाशित : जेष्ठ ३, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?