कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

महोत्तरीमा भारतबाट भित्रिन नदिन सीमामा बार

मटिहानी नगरले डेढ किमि सीमाक्षेत्र बाँसकाे बार लगाएर छेकिसकेकाे छ
अजित तिवारी

जनकपुर — महोत्तरीको मटिहानी नगरपालिकाले भारतसँग जोडिएको आफ्नो डेढ किमि सीमाक्षेत्र बाँसले बारेको छ । भारतबाट कोरोना संक्रमित भित्रन नदिन र सीमा अतिक्रमण रोक्न बाँसको तीन तहको घेरा हालिएको हो ।

महोत्तरीमा भारतबाट भित्रिन नदिन सीमामा बार

सशस्त्र प्रहरीको सहयोगमा गरिबनाथ मन्दिरदेखि जलेश्वर नगरपालिका छुने पर्सा गाउँसम्म बाँसको घेरा हालिएको मेयर हरिप्रसाद मण्डलले जानकारी दिए । नगरले एक साता लगाएर करिब २ लाख रुपैयाँ खर्चमा २ हजार ५ सयवटा बाँस गाडेको छ । मटिहानीको भारतसँग जोडिएको सीमामा दुवैतिर घना बस्ती छ । बिहारको मधुवनी जिल्लाको मधवापुर बजार नजिकै छ । त्यो सीमावारिका नेपालीको पायकको बजार हो ।

‘कोरोना भाइरसको संक्रमणबाट आफ्नो पालिकालाई सुरक्षित राख्न सीमामा बाँसको घेराबार लगाएका हौं,’ मेयर मण्डलले भने, ‘बोर्डरमा लगाइएको घेराबार तत्कालका लागि कोरोना संक्रमणबाट जोगिनकै लागि हो । आवश्यकता देखिए पछिसम्म राख्न सकिन्छ ।’ बार लगाउन सशस्त्र प्रहरीले पनि श्रमदान गरेको उनले जानकारी दिए । मण्डलका अनुसार बिहीबार पनि जलेश्वरको पर्सा गाउँनजिकको सीमामा बार लगाउने काम भइरहेको छ । ‘शुक्रबारसम्म सीमामा घेराबार लगाउने काम सकिन्छ,’ मेयर मण्डलले भने, ‘यसले धेरै हदसम्म घुसपैठ रोकिन्छ ।’

महोत्तरीको विपद् व्यवस्थापन समितिले ‘आवश्यक परे सीमामा बाँसको घेराबार लगाउन सकिने’ निर्णय गरेपछि सशस्त्र प्रहरीले स्थानीय तहलाई यसका लागि पत्राचार गरिरहेको छ । सशस्त्र प्रहरी महोत्तरीका प्रमुख एसपी नीरकृष्ण अधिकारीका अनुसार सीमामा तीन तहको बाँसको घेरा हालिएपछि आउजाउ नियन्त्रण भएको छ । ‘मटिहानीको सीमासँग भारतीय बजार जोडिएको छ,’ उनले भने, ‘त्यसैले बाँसको घेरा हालिएको छ । त्यो नाघेर आउन सम्भव छैन ।’

महोत्तरीसँग भारतको ३८.६ किलोमिटर सीमा पर्छ । सीमा सिल गरेपछि सशस्त्रले जिल्लाका ४० ठाउँबाट निगरानी गरिरहेको छ । ‘सीमामा बाँसको घेराबार लगाउन महोत्तरीका अन्य पालिकालाई पनि पत्राचार गरिएको छ,’ एसपी अधिकारीले भने, ‘केही पालिकाले चासो देखाएका छन् । त्यहाँ पनि छिट्टै काम सुरु हुन्छ ।’

प्रकाशित : जेष्ठ १, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?