लकडाउनले रगत अभाव- प्रदेश २ - कान्तिपुर समाचार

लकडाउनले रगत अभाव

शंकर आचार्य

पर्सा — वीरगन्जमा रगतको चरम अभाव टार्न बुधबार आकस्मिक रक्तदान गरिएको छ । वीरगन्ज–२४ रमगढवामा हेल्पिङ ह्यान्ड फोर पिपुल नामक संस्था रेडक्रस रानीघाट उपशाखाको संयुक्त आयोजनमा गरिएको आकस्मिक रक्तदानमा तीन महिलासहित ६४ जनाले रक्तदान गरे । 

एकै दिन यति संख्यामा रगत संकलन भएपछि रक्त सञ्चार केन्द्र वीरगन्ज शाखा प्रमुख सौरभराज पाण्डेले राहतको सास फेरे । ‘कम्तीमा ३ दिनका लागि अभाव टर्‍यो,’ उनले भने, ‘केन्द्रमा रगतको मौज्दात सकिएपछि हालका दिनहरूमा हामीले रगत लिन आउनेलाई रगत शोधभर्ना गरेर मात्र दिइरहेका छौं ।’

करिब डेढ महिना लामो लकडाउनका कारण नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना हुन बन्द भएपछि केन्द्रमा रगतको मौज्दात सकिएर चरम अभाव भएको पाण्डे बताउँछन् । ‘केन्द्रमा दैनिक २० देखि ३० पोका रगतको माग छ,’ उनले भने, ‘तर हामीसँग मौज्दात सकिएको छ, सबैभन्दा बढी पी पोजिटिभ समूहको रगतको माग छ ।’ बिहीबार बाराको निजगढमा र शुक्रबार रेडक्रस दिवसका अवसरमा वीरगन्जमा दुई वटा रक्तदान कार्यक्रम आयोजना हुने भएकाले कम्तीमा डेढ साताका लागि रगतको मौज्दात हुनेमा आफू आशावादी रहेको उनले बताए ।

सामाजिक अभियन्ता प्रकाश थारू आफूसँग नियमित रूपमा रक्तदान गर्ने रक्तदाताहरूको सम्पर्क नम्बर तथा रक्त समूहको विवरण नै रहेकाले कतैबाट रगतको मागसहितको फोन आए तत्कालै रक्तदाताहरूलाई फोनबाट आग्रह गर्ने र त्यसरी पनि सम्भव नभए सामाजिक सञ्जालमा रगतको मागसम्बन्धी व्यहोरा पोस्ट गर्ने गरेको बताउँछन् । ‘सामान्य अवस्थामा पनि म र मेरा साथीहरूको समूहले दैनिक यसरी ३/४ जनालाई रगत उपलब्ध गराउँथ्यौं,’ उनले भने, ‘लकडाउनमा पनि दैनिक यति नै संख्यामा रगतको माग आफूलाई आउने गरेको र फोन तथा सामाजिक सञ्जालबाट रगतको जोहो गर्ने गरेको छु ।’

प्रकाशित : वैशाख २५, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्

बन्दरगाहमा थेग्नै नसकिने चाप

कन्टेनर, बोराबन्द सामान तथा फलामसमेत बन्दरगाहबाट बाहिरिने क्रम कम भएपछि समस्या
शंकर आचार्य

पर्सा — आयातित मालवस्तु बाहिरिने क्रम घटेपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह थेग्नै नसकिने अवस्थामा पुगेको छ । लकडाउनका कारण भारतबाट रेलमा आयात हुने कन्टेनर, बोराबन्द सामान तथा फलामसमेत बन्दरगाहबाट बाहिरिने क्रम अत्यन्त कम भएकाले समस्या आएको हो।

तेस्रो मुलुक तथा भारतबाट आयात हुने मालवस्तु दैनिकजसो तीन/चारवटा रेलवे र्‍याकबाट आउने गरेको तर त्यसै अनुपातमा सुक्खा बन्दरगाहबाट नबाहिरिएकाले समस्या बढेको बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरी बताउँछन् । ‘अहिले हामी थेग्नै नसक्ने अवस्थामा छौं । बन्दरगाहको यार्डका सबै कुनाकाप्चासमेत भरिएका छन्, यार्डको मूल गेटसम्मै पनि कन्टेनरका चाङ लागिसकेका छन्,’ उनले भने, ‘१० वटा कन्टेनर एक लाइनमा राखेर तिनमाथि चारवटासम्म कन्टेनर राख्दा पनि ठाउँ छैन ।’

मंगलबार साँझसम्म बन्दरगाहको यार्डमा ३ हजार २ सय ४ मालवस्तु बोकेका र २ सय ६९ खाली कन्टेनर छन् । बन्दरगाहको यार्डबाट आयातकर्ताले गन्तव्यतर्फ लगेका ५ सय ३४ कन्टेनर बन्दरगाहमा फिर्ता आउने क्रममा छन् । यसबाहेक ११ बाइलेटरल कन्टेनर पनि यार्डमा छन् ।

भारतबाट वीरगन्जका लागि हिँडेका १८ वटा रेलवे र्‍याकमा ९० वटाका दरले १ हजार ६ सय २० कन्टेनर तीन/चार दिनभित्रै बन्दरगाहमा थपिँदै छन् । यसबाहेक भारतको विशाखापट्टनम बन्दरगाहमा वीरगन्ज आउन ४ हजार मालवाहक कन्टेनर प्रतीक्षामा छन् । कोलकाता बन्दरगाहमा पनि करिब ३ सय कन्टेनर तयार छन् ।

टर्मिनल्सले जटिल परिस्थितिमा सीमित जनशक्ति र मेसिनरीको उपयोगबाट हालसम्म जेनतेजन बन्दरगाह सञ्चालन गरे पनि अब यस्तो दबाब थेगेर काम गर्न नसक्ने अवस्था रहेको चौधरी बताउँछन् । ‘बन्दरगाहको यार्डको क्षमता १ हजार ५ सय कन्टेनर मात्र हो,’ उनले भने, ‘लकडाउन सुरु भएदेखि मंगलबारसम्म हामीले ७१ र्‍याकमा ६ हजार ३ सय ९० मालवाहक कन्टेनर ल्याइसक्यौं, बीसीएन कार्गो र फलामका गरी थप १७ वटा रेलवे र्‍याक मालवस्तु आएका छन्, अब हामी चाप थेग्न सक्ने अवस्थामा छैनौं ।’ सरकार एवं सम्बद्ध निकाय समयमै सचेत हुनुपर्‍यो, केही दिनका लागि मालवस्तु आयात रोक्नुपरे पनि त्यो निर्णय तत्कालै गर्नुपर्ने उनको भनाइ छ ।

लकडाउनका कारण कतिपय आयातकर्ताले आफ्ना मालवस्तु गन्तव्यतर्फ लैजान सकेका छैनन् । कतिपय आयातकर्ताको उद्योग व्यवसाय पनि बन्द छ । यस्तो अवस्थामा उद्योगीहरु मालवस्तु आफ्नो व्यावसायिक प्रतिष्ठानमा लग्नुभन्दा सुक्खा बन्दरगाहको यार्डमै राख्न चाहन्छन् । त्यसमाथि टर्मिनल्सले चैत २८ देखि ह्यान्डलिङ चार्जबाहेक पार्किङ शुल्क, गोदाम भाडा, ओपन यार्ड शुल्क आदि नलिने घोषणा गरेपछि आयाकर्ताले आफ्नो मालवस्तु जाँचपास गराई लैजान छाडेका छन् ।

गत साता बिग्रिएका टर्मिनल्सका दुई रिचस्टेकर उपकरण मर्मत गरी शनिबारदेखि चारैवटाले काम गरे पनि चाप नघटेको चौधरीले बताए । बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ पनि आयातित मालवस्तु थपिने क्रम जारी रहेकाले बन्दरगाहको यार्डले थेग्नै नसक्ने अवस्था आएको बताउँछन् । ‘अब यार्डमा कतै ठाउँ खाली छैन,’ उनले भने, ‘यार्डमा उत्तरतर्फ रहेको करिब दुई सय मिटर लामो र ५० मिटर चौडा वृक्षरोपणस्थल हटाउनुको विकल्प छैन, सम्बन्धित निकायलाई मैले यसबारे पत्र पठाइसकेको छु, त्यहाँ यार्ड बनाउँदा थप एक हजार कन्टेनर राख्न सकिन्छ ।’

प्रकाशित : वैशाख १८, २०७७ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×