३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लकडाउनले रगत अभाव

शंकर आचार्य

पर्सा — वीरगन्जमा रगतको चरम अभाव टार्न बुधबार आकस्मिक रक्तदान गरिएको छ । वीरगन्ज–२४ रमगढवामा हेल्पिङ ह्यान्ड फोर पिपुल नामक संस्था रेडक्रस रानीघाट उपशाखाको संयुक्त आयोजनमा गरिएको आकस्मिक रक्तदानमा तीन महिलासहित ६४ जनाले रक्तदान गरे । 

लकडाउनले रगत अभाव

एकै दिन यति संख्यामा रगत संकलन भएपछि रक्त सञ्चार केन्द्र वीरगन्ज शाखा प्रमुख सौरभराज पाण्डेले राहतको सास फेरे । ‘कम्तीमा ३ दिनका लागि अभाव टर्‍यो,’ उनले भने, ‘केन्द्रमा रगतको मौज्दात सकिएपछि हालका दिनहरूमा हामीले रगत लिन आउनेलाई रगत शोधभर्ना गरेर मात्र दिइरहेका छौं ।’

करिब डेढ महिना लामो लकडाउनका कारण नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना हुन बन्द भएपछि केन्द्रमा रगतको मौज्दात सकिएर चरम अभाव भएको पाण्डे बताउँछन् । ‘केन्द्रमा दैनिक २० देखि ३० पोका रगतको माग छ,’ उनले भने, ‘तर हामीसँग मौज्दात सकिएको छ, सबैभन्दा बढी पी पोजिटिभ समूहको रगतको माग छ ।’ बिहीबार बाराको निजगढमा र शुक्रबार रेडक्रस दिवसका अवसरमा वीरगन्जमा दुई वटा रक्तदान कार्यक्रम आयोजना हुने भएकाले कम्तीमा डेढ साताका लागि रगतको मौज्दात हुनेमा आफू आशावादी रहेको उनले बताए ।

सामाजिक अभियन्ता प्रकाश थारू आफूसँग नियमित रूपमा रक्तदान गर्ने रक्तदाताहरूको सम्पर्क नम्बर तथा रक्त समूहको विवरण नै रहेकाले कतैबाट रगतको मागसहितको फोन आए तत्कालै रक्तदाताहरूलाई फोनबाट आग्रह गर्ने र त्यसरी पनि सम्भव नभए सामाजिक सञ्जालमा रगतको मागसम्बन्धी व्यहोरा पोस्ट गर्ने गरेको बताउँछन् । ‘सामान्य अवस्थामा पनि म र मेरा साथीहरूको समूहले दैनिक यसरी ३/४ जनालाई रगत उपलब्ध गराउँथ्यौं,’ उनले भने, ‘लकडाउनमा पनि दैनिक यति नै संख्यामा रगतको माग आफूलाई आउने गरेको र फोन तथा सामाजिक सञ्जालबाट रगतको जोहो गर्ने गरेको छु ।’

प्रकाशित : वैशाख २५, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?