कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

वीरगन्जमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालमा मंगलबार साँझदेखि कोरोना भाइरस (कोभिड १९) को आरटी पीसीआर (पोलिमरेज चेन रियाक्सन) विधिबाट नमुना परीक्षण थालिएको छ । गत वैशाख ३ मा पीसीआर मेसिन अस्पतालमा आए पनि त्यसलाई सञ्चालन गर्ने सहायक उपकरण अभावमा परीक्षण हुन सकेको थिएन । 

वीरगन्जमा पीसीआर विधिबाट कोरोना परीक्षण सुरु

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले मंगलबार १६ वटा नमुनाको परीक्षण सुरु गरिसकिएको बताए । उनकाअनुसार पीसीआर मेसिनमा एकपटकमा ३५ वटा नमुना परीक्षण गर्न सकिन्छ । ‘एक पटकको नमुना परीक्षणका लागि ६ घन्टा समय लाग्न्छ,’ डा.उपाध्यायले भने, ‘यस मेसिनले १२ घन्टामा ७० वटा नमुना परीक्षण गरी रिपोर्ट दिनसक्छ ।’

यसअघि पर्सा, बारा, रौतहटसम्मको नमुना संकलन गरी परीक्षणका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने गरिएको थियो । पछिल्लो समयमा टेकुको प्रयोगशालामा नमुना परीक्षण रिपोर्ट आउन २/३ दिनसम्म कुर्नुपर्थ्यो ।

गत चैत ३० मा ३ भारतीय मुस्लिम धर्म प्रचारकसहित वैशाख १४ यता वीरगन्जका स्थानीय ३ जना र बाराका २ जनामा कोभिड १९ पुष्टि भएपछि वीरगन्ज र आसपासका क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको छ ।

प्रदेश २ को एकमात्र महानगरपालिका र मुलुकको आयात/निर्यातको प्रमुखनाका सहरमा कोभिड १९ परीक्षणको सुविधा नभएकोमा स्थानीय जनता, नेता, उद्योगी/व्यवसायी, चिकित्सकले चिन्ता व्यक्त गर्दै आएका थिए । ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङको आधारमा नमुन संकलन गरी परीक्षण रिपोर्टका लागि धेरै समय कुर्नु परेको थियो,’ कोभिड संक्रमितको उपचारमा संलग्न डा.निरज सिंह भन्छन्, ‘अब वीरगन्जमै बढीभन्दा बढी परीक्षण गर्न सकिन्छ ।’

अस्पतालका मेसु डा. उपाध्यायकाअनुसार वीरगन्जको पीसीआर मेसिनबाट आउने रिपोर्टको शुद्धताका लागि करिब एक साता ‘ट्रायल’ गरिने छ । ‘संकलित नमुनाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षणका लागि पठाउँछौं,’ डा.उपाध्यायले भने, ‘त्यही नमुना यहाँ पनि परीक्षण गर्छौं, दुवैको रिपोर्ट मिलेपछि सार्वजनिक गर्छौं । रिपोर्ट मिल्यो भने यहाँका स्वास्थ्यकर्मीको मनोबल पनि बढ्छ । रिपोर्टको शुद्धता पनि निखारिन्छ । रिपोर्ट गलत हुँदैन ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएका दुई जना विज्ञले यहाँका प्याथोलोजिस्ट टिमलाई तालिम दिएको थियो । पीसीआर मेसिन सञ्चालनका लागि प्रयोगशाला स्थापनामा पनि विज्ञ टोलीले सहयोग गरेको मेसु उपाध्यायले जनाए । डा. निरा पाठकले यहाँको प्याथोलोजिस्ट टीमको नेतृत्व गरिरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित : वैशाख २३, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?