३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिरहामा राहत वितरणका क्रममा झडप, ९ राउन्ड हवाइफायर

भरत जर्घामगर

सिरहा — राहत वितरणका क्रममा सिरहाको मिर्चैया नगरपालिका–७ फूलवरीयामा झडप भएको छ । वडा कार्यालयमा राहत वितरण भइरहँदा सोमबार मध्यान्ह राहत पाउनुपर्ने सूचीमा विपन्न परिवारको नाम छुटाएको भन्दै विवाद भएको थियो । विवादका क्रममा नाम छुटेका स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाइफायर र चार सेल अश्रुग्यास प्रहार गरेको थियो ।

सिरहामा राहत वितरणका क्रममा झडप, ९ राउन्ड हवाइफायर

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले राहत वितरणका क्रममा प्रहरी टोलीमाथि ढुंगामुढा हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइफायर र अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी दिए । ढुंगा प्रहारबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र मण्डल, हबल्दार सरस्वती चौधरी, जवानद्वय मनिका अधिकारी र सावित्रा कुमाल सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक जैसवालले जानकारी दिए । वडा कार्यालयले वडाभरीका २ सय ७६ जना विपन्न परिवारलाई १२ किलोग्राम चामल, १ किलो दाल, नुन, स्वायविन र तेल सोमबार कार्यालय परिसरबाट वितरण सुरु गरेको थियो ।

राहत वितरण सकिन लाग्दा केही असन्तुष्ट समूहले ढुंगामुढा गरेको वडाध्यक्ष रामकुमार यादवले जानकारी दिए । छुटेका परिवारलाई पुन: राहत वितरण गरिने उनले जानकारी दिए ।

यसैगरी, सिरहाको सुखिपुर नगरपालिका-२ मा आइतबार राहत वितरणका क्रममा ढुंगामुढा भएको थियो । विपन्न परिवारका लागि वितरण गर्नुपर्ने राहत सूचीमा जग्गा जमिन भएका र जागिरे समेतलाई वितरण गरेको भन्दै असुन्तुष्ट स्थानीयको समूहले कार्यालयमा ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो ।

प्रकाशित : वैशाख २२, २०७७ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?