सिरहामा राहत वितरणका क्रममा झडप, ९ राउन्ड हवाइफायर

भरत जर्घामगर

सिरहा — राहत वितरणका क्रममा सिरहाको मिर्चैया नगरपालिका–७ फूलवरीयामा झडप भएको छ । वडा कार्यालयमा राहत वितरण भइरहँदा सोमबार मध्यान्ह राहत पाउनुपर्ने सूचीमा विपन्न परिवारको नाम छुटाएको भन्दै विवाद भएको थियो । विवादका क्रममा नाम छुटेका स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाइफायर र चार सेल अश्रुग्यास प्रहार गरेको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तु जैसवालले राहत वितरणका क्रममा प्रहरी टोलीमाथि ढुंगामुढा हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन हवाइफायर र अश्रुग्यास प्रहार गर्नुपरेको जानकारी दिए । ढुंगा प्रहारबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र मण्डल, हबल्दार सरस्वती चौधरी, जवानद्वय मनिका अधिकारी र सावित्रा कुमाल सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक जैसवालले जानकारी दिए । वडा कार्यालयले वडाभरीका २ सय ७६ जना विपन्न परिवारलाई १२ किलोग्राम चामल, १ किलो दाल, नुन, स्वायविन र तेल सोमबार कार्यालय परिसरबाट वितरण सुरु गरेको थियो ।

राहत वितरण सकिन लाग्दा केही असन्तुष्ट समूहले ढुंगामुढा गरेको वडाध्यक्ष रामकुमार यादवले जानकारी दिए । छुटेका परिवारलाई पुन: राहत वितरण गरिने उनले जानकारी दिए ।

यसैगरी, सिरहाको सुखिपुर नगरपालिका-२ मा आइतबार राहत वितरणका क्रममा ढुंगामुढा भएको थियो । विपन्न परिवारका लागि वितरण गर्नुपर्ने राहत सूचीमा जग्गा जमिन भएका र जागिरे समेतलाई वितरण गरेको भन्दै असुन्तुष्ट स्थानीयको समूहले कार्यालयमा ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो ।

प्रकाशित : वैशाख २२, २०७७ १७:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

डोल्पामा कडाइ, जिल्लाभर र्‍यापिड टेस्ट

हरि गौतम

रुकुम पश्चिम — नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै डोल्पामा विशेष कडाइ गरिएको छ । लकडाउनपछि  नेपालगन्जबाट धेरै व्यक्ति भित्रिएको भन्दै स्थानीय प्रशासनले कडाइ गरेको हो । 

अहिले जिल्लाभरि र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) चलिरहेको छ । परीक्षणका लागि स्वास्थ्यकर्मीलाई गाउँगाउँमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । उनका अनुसार स्वास्थ्य सेवा कार्यालयका चिकित्सकको नेतृत्वमा तीन स्वास्थ्यकर्मीको टोली आरडीटीका लागि स्थानीय तहमा खटाइएको हो । जिल्लामा २ सय ४० जनाको आरडीटी गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

स्वास्थ्य सेवा कार्यालयले ४ सय ८० आरडीटी किट आएकोमा थप ४ सय मगाइएको जनाइएको छ । यसअघि सुरुमै ५ जनाको पीसीआर गरिएको थियो । ‘नेपालगन्जबाट केही दिनयता जिल्ला भित्रिनेको संख्या बढिरहेको छ,’ प्रजिअ सुनारले भने, ‘जाँचसँगै र जिल्ला भित्रिनेलाई कडाइ गरिरहेका छौं ।’

डोल्पामा भारत तथा अन्य मुलुकबाट आउनको संख्या भने न्यून छ । कोरोनाको त्रास फैलनुअघि विदेशबाट ५ जना मात्रै भित्रिएका छन् । अध्ययनको क्रममा भारतमा रहेका ५ विद्यार्थीबाहेक ३ महिनायता कोही पनि नभित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुलाई २ हप्ता क्वारेन्टाइनमा राखेर घर फर्काइएको थियो ।

प्रकाशित : वैशाख २२, २०७७ १७:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×