कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

महोत्तरीमा थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या १२ पुग्यो

सुनिता बराल

महोत्तरी — महोत्तरीको दुई वस्तीमा अज्ञात रोगबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । आइतबार बिहान ९ बजे भंगाहा७ स्थित रुपनारायण सिंह दनुवारको ज्यान गएसँगै मृतकको सङ्ख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी नभएको र अचानक बिरामी परेर मृत्यु भएको स्थानीयले बताएका छन् । 

महोत्तरीमा थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या १२ पुग्यो


शनिबार मात्रै भंगाहा–६ का ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय नागरिक (इँटा भट्टामा काम गर्दै आएका) मोतिलाल प्रजापतिको मृत्यु भएको थियो ।

भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एक आपसमा जोडिएका दुई वस्तीमा विगत १० दिनभित्र मृत्यु हुनेको संख्या १२ पुगेको हो । मृतकमा एकै खालको लक्षण देखिएको स्थानीय रामलाल मण्डलले बताए । अचानक पेट दुखेपछि बान्ता आउने र झाडापखला लाग्ने र बिरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् ।

भंगाहा नगरपालिकाका मेयर संजिव साहले व्यक्ति आधा घन्टाभित्रै बिरामी परेर मृत्यु हुने गरेको बताए । ‘पेट दुख्यो भन्दाभन्दै बान्ता गर्छन्,’ मेयर साहले भने, ‘उपचार गर्ने ठाउँसम्म पनि नपुर्‍याउँदै बिरामीको मृत्यु भइरहेको छ ।’

विषाक्त मदिरा सेवन मृत्युको कारण भएको आशंकामा मृतकको भिसेरा संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको छ । भिसेराको रिपोर्ट नआएसम्म के भएको हो भन्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको डाक्टरहरुको टोली पनि घटनास्थल पुगेको छ । सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्ने सकिने डाक्टरहरुले बताएका छन् ।

मृतकमध्ये केही व्यक्तिको कोरोना आशंकामा आरडीटी परीक्षण गरी स्वाब संकलनसमेत गरिएको थियो । परीक्षण गरिएका मृतकको आरडीटी रिपोर्ट नेगेटिभ आएको र पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन झाले बताए ।

प्रकाशित : वैशाख २१, २०७७ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?