२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सम्सी गाउँपालिका अध्यक्षद्वारा अधिकृतविरुद्ध अख्तियारमा उजुरी

सन्तोष सिंह

महोत्तरी — सम्सी गाउँपालिका महोत्तरीका अध्यक्षले आफ्नै प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । प्रशासकीय अधिकृतले घरायासी प्रयोजनका लागि खरिद गरेको भाँडाकुँडा, इन्टरनेटको भुक्तानी गाउँपालिकाबाट गर्नुका साथै गाडी सुविधा, होटल खर्च, फर्निचर खरिदमा अनियमितता गरेको भन्दै गाउँपालिका अध्यक्षले उजुरी दर्ता गराएको बताएका छन्।

सम्सी गाउँपालिका अध्यक्षद्वारा अधिकृतविरुद्ध अख्तियारमा उजुरी

गाउँपालिकाका प्रशासकीय अधिकृत रामजी जोशीले कार्यालयमा आएको तीन महिनामा प्रक्रिया पूरा नगरी मनोमानी रकम भुक्तानी गर्न थालेपछि गाउँपालिका अध्यक्ष शेष फारुकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महात्तरीमा उजुरी दर्ता गराएका हुन् ।

प्रशासकीय अधिकृत जोशीले सम्सी गाउँपालिकाको गाउँ सभा सम्पन्न भएपछि सार्वजनिक खरिद नियमावली २०६४ लाई बेवास्ता गरी माग फारम, खरिद आदेश, दाखिला प्रतिवेदनमा एकल दस्तखत गरी भुक्तानीका लागि दबाब दिएको गाउँपालिका अध्यक्ष फारुकले बताए । आर्थिक प्रशासन शाखाको सफ्टवेयर प्रयोग गरी आर्थिक कार्यमा लेखालाई चेकमा मात्र हस्ताक्षर गर्न लगाएर डेढ महिनाको अवधिमा अधिकृत जोशीले होटल खर्च देखाएर मात्रै ८ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

सार्वजनिक खरिद नियमावली विपरित खरिद भएको फर्निचरको बिल भुक्तानीका लागि अधिकृत जोशीले बिल पेश गरी एकल दस्तखत गरी दाखिला प्रतिवेदनको रकम फरक गरी गोश्वारा भौचर समेत आफैले उठाइ भुक्तानीका लागि जिन्सी र लेखालाई दबाब दिएकाले छानबिनको माग गर्दै अध्यक्ष फारुकले उजुरी दिएको बताएका छन्।

गाउँपालिकाको कार्यालयमा बिल पेश गरी दाखिला अनुसारका फर्निचरका समानहरुको खरिद गर्नुपर्ने आवश्यता नरहेको र वडा कार्यालयहरुमा अनुगमन गर्दा दाखिला अनुसारको फर्निचर वडा कार्यालयमा नरहेपनि भुक्तानीका लागि दबाब दिएको उजुरीमा उल्लेख छ । गाउँपालिकमा प्रशासकीय अधिकृतले गरेको मनोमानीबारे जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई जानकारी गराएपनि समस्या समधान नभएपछि अख्तियारमा उजुरी गर्नुपरेको अध्यक्ष फारुकले बताए ।

प्रक्रिया पुरा नगरी खरिद भएको फर्निचरको भुक्तानिका लागि अधिकृत जोशीले जिन्सी शाखामा तीन महिनामा तीन जना कर्मचारी फेरबदल गरेका छन । अधिकृत जोशीले घरको भाँडाकुँडा खरिदको ९६ हजार र व्यक्तिगत प्रयोगका लागि बर्दिबासस्थित घरमा लगाएको इन्टरनेट बापतको शुल्क २६ हजार ८ सय ५८ रुपैयाँ गाउँपालिकाबाट भुक्तानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गराइएको उजुरीमा उल्लेख गरिएको छ ।

अधिकृत जोशीले फर्निचरको भुक्तानिका लागि पेश गरेको बिल भरपाइहरुको भुक्तानी कानुन संगत नहरेको भन्दै गाउँपालिका अध्यक्षले भुक्तानी रोकेका छन् । फर्निचरको भुक्तानी रोकिएपछि जोशीले कोभिड–१९ प्रयोजनमा भएको खर्चको भुक्तानी हुन दिएक छैनन् ।

गाउँपालिकाकी उपाध्यक्ष नगिना देवी र वडा अध्यक्षहरुलाई आर्थिक प्रलोभनमा पारेर अधिकृत जोशी गाउँपालिकामा अनियमित ढंगले आर्थिक कारोबार गर्न थालेपछि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्नु परेको गाउँपालिका अध्यक्ष फारुकले बताए ।

अधिकृत जोशी गाउँ सभाको निर्णय विपरित आफू र उप प्रमुखलाई गाडी सुविधा बापत रकम भुक्तानी गरेका छन् । नगरसभाले अध्यक्षलाई मासिक ४५ हजार, उपाध्यक्षलाई मासिक ४० हाजार र प्रशासकिय अधिकृतलाई मासिक ३० हजार सावारी सुविधाकालागि रकम तोकेको छ । तर, अधिकृत जोशीले आफ्नो उपाध्यक्षलाई मासिक १ लाख ५० हजारका दरले गाडी सुविधा बापत भुक्तानी गरेको उजुरीमा उल्लेख छ । उपाध्यक्षलाई १० महिनाको गाडी सुविधा र इनधन बापत १४ लाख २ हजार ५ सय ४४ भुक्तानी गरेपछि सम्सी गाउँपालिका अध्यक्ष र प्रशासकीय अधिकृतबिचको विवाद चर्केको हो ।

गाउँपालिका अध्यक्षले लगाएको आरोप गलत भएको प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले बताए ।‘उजुरीमा लगाइएको आरोप गलत हो,’ अधिकृत जोशीले भने,‘अध्यक्ष आफै नियम विपरित विभिन्न भुक्तानी लिएका छन् । हामी लिस्ट बनाउँदै छौं । केही दिनमा त्यो पनि सार्वजनिक हुन्छ ।’ गाउँपालिकामा अध्यक्ष र प्रशासकीय अधिकृतबिचको विवादले जनप्रतिनिधि र कर्मचारी गुट–उपगुटमा विभाजित भएका छन् ।

प्रकाशित : वैशाख २०, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?