प्रधानाध्यापकमाथि राहतको चामल बिक्री गरेको आरोप- प्रदेश २ - कान्तिपुर समाचार

प्रधानाध्यापकमाथि राहतको चामल बिक्री गरेको आरोप

अवधेशकुमार झा

राजविराज — राहतको चामल र दाल बिक्री गरेको भन्दै स्थानीय बासिन्दाले बुधबार सप्तरीको कञ्चनरुप नगरपालिका-४ मा दुई प्रधानान्यापकलाई प्रहरीको जिम्मा लगाएका छन्।

राहत वितरण समितिका सदस्य रहेका आधारभूत विद्यालय जगतपुरका प्रधानाध्यापक महेश परियार र रामनारायण साहलाई स्थानीयले घेरा हाली प्रहरीलाई खबर गरेका थिए।

वडाका विपन्नहरुलाई बाँड्न ल्याएको चामल र दाल स्थानीय एक राइस मिलमा लिएर पुगेका बेला स्थानीयले उनीहरुलाई घेरा हालेका थिए। स्थानीयले खबर गरेपछि दुवैलाई इलाका प्रहरी कार्यालय ल्याएर नगरपालिकाको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी मकेन्द्र मिश्रले बताए।

१५ केजीको ७ प्याकेट र १० केजीको ८ प्याकेट चामल तथा ५० केजी दाल प्रधानाध्यापकद्वयले राइस मिलमा बिक्री गर्ने प्रयोजनका लागि त्यहाँ लगेको स्थानीयको दाबी छ।

नगरपालिकाले उक्त वडालाई ५ लाख ११ हजार रुपैयाँ राहत वितरणका लागि दिएको थियो। वडामा अहिलेसम्म ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको छ।

वडाध्यक्ष रामनारायण साहले राहतको चामल बिक्रीका लागि नभई राख्नका लागि मिलमा लिएर गएको दाबी गरे। ‘केही परिवारलाई अझै राहत दिन बाँकी छ, विद्यालयमा राख्दा पाले राख्नुपर्ने अवस्था भएकाले खरिद गरिएकै मिलमा चामल राख्न मात्र गएको हो,’ वडाध्यक्ष साहले भने। स्थानीयले भने वडा कार्यालयको सुविधासमपन्न भवन हुँदाहुँदै मिलमा चामल लिएर जानु बिक्रीकै प्रयोजन भएको आरोप लगाएका छन्।

कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले घटनाबारे बुझ्ने कार्य भइरहेको बताए। प्रधानाध्यापक परियारले वडामा कुल ६ सय ८१ परिवारलाई राहत वितरण गरिएको र ९ जनालाई वितरण गर्न बाँकी रहेको सामग्री मिलमा सुरक्षित तरिकाले राख्नका लागि लगिएको प्रतिक्रिया दिए।

प्रकाशित : वैशाख १७, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमित हुँदैमा नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोरोना पोजिटिभ देखिएपछि समाजले विभेदपूर्ण व्यवहार गर्छ कि भन्ने डरले पनि परीक्षणमा नआएको बताएका छन् ।  

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा उनले परीक्षण नगराएमा आफू, परिवार र सिंगो समाजमा जोखिम बढ्न सक्ने भन्दै संक्रमित हुँदैमा नआत्तिन र संक्रमण देखिएमा आफूले गल्ती गरेको महसुस नगर्न आग्रह गरेका छन् । मन्त्रालयले आयुर्वेद र वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा आयुर्वेद चिकित्साबाट कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ साथै योगाभ्यास तथा व्यायाम आदिका फाइदाका बारेमा उल्लेख छ ।

कोरोना संक्रमितको संख्या ५७ पुग्यो, आज ३ थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा थप ३ जनाको पोजिटिभ देखिएको हो । पर्सा जिल्लाका ४६ वर्षीय पुरुष र बारा जिल्लाका ३१ र ४३ वर्षीय पुरुष रहेका छन् । उनीहरु सिमरामा क्‍वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई नारायण अस्पालमा उपचाररत छन् ।

कोरोना संक्रमित मध्ये १६ जना निको भइसकेका छन् ।

बुधबारम्म नेपालमा आरडिटी विधिबाट ४५ हजार ६ सय ६५ नमुना परीक्षण भएका छन् भने पिसिआर विधिबाट ११ हजार ५ सय २४ परीक्षणहरु भएका छन् ।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी ८७ जना रहेका छन् । काठमाडौंमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८३ जना रहेका छन् । क्‍वारेन्टाइनमा २२ हजार ९०१ जना रहेका छन् ।

प्रकाशित : वैशाख १७, २०७७ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×