२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

आइसीपीबाट कोरोना फैलिने जोखिम  

शंकर आचार्य

पर्सा — मालवस्तु आयात हुने मुलुकको मुख्य नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसीपी) बाट कोरोना संक्रमण भित्रिने खतरा उच्च रहेको छ । भारतमा तीव्र रुपमा कोरोना संक्रमितको संख्या बढी रहेको र उसका अधिकांश राज्यमा संक्रमित देखा परिरहेको सन्दर्भमा दैनिक ठूलो सख्ंयामा भारतीय चालक आउने गरेको यो नाकामा कोरोना संक्रमणलाई लिएर आवश्यक सर्तकता नअनाइदा संक्रमण भित्रिने जोखिम उच्च छ ।


आइसीपीको दक्षिणी गेटमा २ साताअघि हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ २ स्वास्थ्यकर्मीले पालैपालो ड्युटी दिन्छन् । तर उनीहरुसँग मास्क, पन्जा र ह्यान्ड सेनिटाइजर तथा ज्वरो नाप्ने थर्मल गन बाहेक केही छैन । हेल्थ असिस्टेन्ट अनिशकान्त कुशवाहा एक सहकर्मीका साथ बिहान–बेलुका पालैपालो ड्युटी गरी रहेको बताउँछन् । ‘यहाँ हामीसँग थर्मल गनबाहेक केही उपकरण छैन, भारतबाट आउने चालकहरुको ज्वरो नाप्छौं, साबुन पानीले हात धुन लगाउँछौं,’ उनले भने, ‘अरु त परै जाओस् सर्जिलक मास्कसमेत छैन, वीरगन्ज महानगरपालिकाको कार्यालय तथा आइसीपी दुवैले यसबारे चासो लिएका छैनन, हामीलाई कम्तीमा एन ९५ मास्क चाहियो ।’


मूल गेटमा राखिएको हात धुने पानी सक्किँदा पनि पानी फेरि ल्याइदिने कोही नहुने गरेको उनले बताए । भारतबाट भित्रिने मालवाहक सवारी साधनलाई सेनिटाइज गर्न २ वटा पम्पिङ्ग मेसिन रहे पनि त्यसमध्ये एउटा बिग्रिएको उनले बताए । ‘यहाँ त अत्यन्तै जोखिम भयो,’ कुशवाहा भन्छन्, ‘यो नाकामा गम्भीरतापूर्वक ध्यान दिइएन भने भारतबाट सहजै कोरोना भित्रिन्छ ।’ भारतको बिहार, झारखण्ड, महाराष्ट्र, पन्जाव, पश्चिम बंगाल लगायत थुप्रै राज्यबाट मालवाहक सवारी साधन यो भन्सारमा दैनिक आउने गरेका छन् ।


आइसीपी सञ्‍चालक इन्टर मोडल यातायात विकास समिति प्रमुख कमल ज्ञवालीले श्रोत र साधनले भ्याएसम्म भारतबाट आउने मालवाहक सवारी साधनका चालकबाट कोरोना रोग भित्रिन नदिन सक्दो प्रयास गरिएको दाबी गर्छन् । ‘हामी पहिले चालकहरुलाई साबुन पानीले हात धुन लगाउँछौं, त्यसपछि उनीहरुको ज्वरो नाप्छौं,’ उनले भने, ‘त्यसपछि सवारी साधनको चक्कामा ब्लिचिङ्ग पाउडर छर्कन्छौं, अनि मात्र सवारी साधन नेपाल छिर्छ ।’


कर्मचारीहरु पनि मास्क र पन्जा लगाएर सर्तकतापूर्वक काम गरी रहेको उनले बताए । हाल आइसीपीमा भारतबाट दैनिक जसो १ सय ५० देखि १ सय ७५ मालवाहक सवारी भित्रिरहेका छन् । एक सवारीमा एक चालक, आइसीपी तथा भन्सार कर्मचारी, भन्सार एजेन्टहरु, सुरक्षा गार्डहरु समेत गरी दैनिक ३ सयदेखि ४ मानिस आइसीपीमा हुन्छन् । ‘भारतबाट हुने मालवस्तुको आयात र त्यहाँबाट आउने सवारी चालकहरु, कर्मचारी लगायत सम्पूर्णको उपस्थिति हेर्दा तुलनात्मक रुपमा सुरक्षाको व्यवस्था कम रहेको हामीले पनि अनुभूति गरेका छौं,’ उनले भने, ‘तर हाम्रो स्रोत र साधनले भ्याएसम्म हामीले प्रयास गरी रहेका छौं, मुलुककै मुख्य नाका भएकाले सरकारले यसलाई अझ व्यवस्थित बनाउन सुविधा थप्नु पर्ने त हो ।’

प्रकाशित : चैत्र ३०, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?