२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

गृहको निर्देशनपछि होम क्वारेन्टाइनमा सांसद यादव

भूषण यादव

वीरगन्ज — सीमावर्ती भारतको रक्सौलमा बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई बुधवार भेट्न गएका पर्सा क्षेत्र नं १ का प्रतिनिधि सभा सांसद प्रदीप यादव बिहीबार अपराह्नदेखि होम क्वारेन्टाइनमा बसेका छन् । 

गृहको निर्देशनपछि होम क्वारेन्टाइनमा सांसद यादव

गृह मन्त्रालयको निर्देशनपछि यादवलगायत उनका चालक र दुईजना सञ्चारकर्मीसमेत होम क्वारेन्टाइनमा बसेका हुन् । ‘सिडियो साहेबले घरमै बसरे सहयोग गरिदिनुस्, धरै प्रेसर आयो भनेपछि होम क्वारेन्टाइनमा छु,’ कान्तिपुरसँग फोनमा यादवले भने, ‘रक्सौलमा रहेको क्वारेन्टाइनमा नेपालीहरु कसरी बसेका छन् भनी हालचाल बुझ्न गएको थिएँ ।’


बुधबार स्थानीय प्रशासन र भारतीय महावाणिज्य दुतावासकै समन्वयमा आफू रक्सौल गएको यादवले बताएका छन् । यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने भारतको रक्सौलमा रहेको क्वारेन्टाइनमा जान सांसद यादवले आफूलाई कुनै जानकारी नगराएको बताएका छन् ।


दुवै देशमा लकडाउन जारी रहेको अवस्थामा अन्तराष्ट्रिय नाकाबाट यात्रु आवागमनसमेत निषेध गरिएको छ । यस्तो बेलामा सांसद यादव प्रशासनको अनुमति बिना कसरी रक्सौल पुगे भन्ने चर्चाको विषय बनेको छ । रक्सौलको क्वारेन्टाइनमा सांसदले अनुगमन गरेको तस्बिर सार्वजनिक भएपछि गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सालाई सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।


दुवै देशमा जारी लकडाउनका कारण रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा स्थापना भएको क्वारेन्टाइनमा भारतको विभिन्न सहरबाट आएका १५ जना नेपाली नागरिक बसिरहेका छन् । ‘म गलत भावनाले गएको होइन,’ सांसद यादवले भने, ‘क्वारेन्टाइनमा बसेकाहरुको हौसला बढाउन गएको हुँ ।’


डब्लुएचओको मापदण्ड बमोजिम दूरी बनाएर क्वारेन्टाइनमा बसेका नागरिकलाई भेटेको उनले दाबी गरेका छन् । तर, सांसद यादवले क्वारेन्टाइन अनुगमन गर्दाको सार्वजनिक भएका तस्बिरमा उनले मास्क खोलेर खाटमा बसेका व्यक्तिसँग भलाकुसारी गरेको देखिन्छ । नारायणी अस्पतालका एक चिकित्सकका अनुसार क्वारेन्टाइनमा बस्नेहरु ‘रिस्क ग्रुप’ हुन् । ‘बाहिरबाट आएका उनीहरुमा लक्षण नदेखिए पनि कोरोना भाइरस बोकेर आएका हुन सक्छन्,’ ती चिकित्सकले भने, ‘क्वारेन्टाइनमा बसेको बेला लक्षण देखिएमा अस्पतालको आइसोलेसन वार्डमा पठाइन्छ, दुई हप्तामा लक्षण नदेखिए घर पठाउने गरिएको छ ।’


उनका अनुसार क्वारेन्टाइनमा बसेकालाई चेकजाँच गर्दा पनि मापदण्ड पुर्‍याएर गुर्नपर्ने हुन्छ । सांसद यादवले आफ्नो तर्फबाट क्वारेन्टाइनमा बसेकालाई सेनिटाइजर, मास्क, फलफुल, चिउरा, बिस्कुट, भुजिया, जुसर र खानेपानी लगायतका सामग्री वितरणसमेत गरेका थिए ।

प्रकाशित : चैत्र २७, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?