क्वारेन्टाइनमा बस्न नमानी भागेका १४ भारतीयसहित २५ पक्राउ

प्रहरीले सप्तरीको महुलीस्थित क्वारेन्टाइनमा राख्यो 
अवधेशकुमार झा

राजविराज — क्वारेन्टाइनमा बस्न नमानी भागेका १४ भारतीय सहित २५ जनालाई सप्तरी प्रहरीले बुधबार मध्यराति नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पुर्‍याएको छ । उनीहरुलाई सप्तरीको कंचनपुर–भारदहको बीचबाट नियन्त्रणमा लिइएकाे हाे ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ स्थित बाँसघारी नजिक बुधबार राति भारत विहारको अररिया जिल्ला घर भएका १४ जना मुस्लिम युवकलाई स्थानिय बासिन्दाले देखेपछि वडाध्यक्ष तेजनारायण यादवलाई खबर गरेका थिए ।

अररिया जिल्ला घर भएका महमद सलिम, महमद इस्तिमाक, अजरत मुसलमान, गेजिस मिया, महमद वारिस, महमद सबिर, शोखिमान मिया, मुस्विर मिया, मगम मिया, तेजाब आलम, महमद समसाद, महमद नाशिस, नाजिब मिया र महमद साहद मियालाई स्थानियले फेला पारी आफूलाई खबर गरेको वडाध्यक्ष तेजनारायण यादवले बताए ।


उनीहरु मध्ये कसैले आफूहरु दिल्लीबाट त कसैले काठमाडौंबाट आएको बताएपछि शंका लागेर उनीहरुलाई अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित क्वारेन्टाइनमा लग्ने तयारी गरिरहँदा काठमाडौं तर्फबाट तरकारी पुर्‍याएर फर्किंदै गरेको ज १ च १५७९ नम्बरको पिकअप भ्यानमा सवार भइ उनीहरु भागेका थिए । क्वाराइनटाइनमा राख्ने बताएपछि उनीहरु भाग्दा आफू थप सशंकित भएको वडाध्यक्ष यादवले बताए । उनका अनुसार मध्यरात भइसकेको हुँदा प्रहरीले पनि तत्कालै सहयोग नगर्दा सहायक प्रमुख जिल्ला अधिकारी आनन्दकुमार ठाकुरलाई सम्पर्क गरी घटनाबारे जानकारी गराइएको थियो ।

मध्यराति सहायक प्रजिअ ठाकुरले प्रहरीलाई आवश्यक कदम चाल्न भनेपछि सक्रिय भएको प्रहरीले उक्त पिकअप भ्यान र त्यसमा सवार १४ जना सहित अन्य ११ जनालाई पनि नियन्त्रणमा लिएको थियो । १४ जनालाई लिएर भागेको पिकअप भ्यानमा सवार भोजपुरको आमचोक ८ का नरबहादुर झार, सुमन तामाङ, अनिश तामाङ, असन तामाङ,भोजपुर बेवारी–२ का धनीलाल उराउ,सुनसरी दुहबी २ का विजयकुमार उराव, सुनसरी मधेवन २ का रमेश कुमार, कुसहाका दिपेशकुमार र चालक अजय परियार, धनुषा मिथिला नपा–७ का सहचालक संजिव परियार र सानो परियारलाई समेत नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका १४ भारतीय सहित २५ जनालाई नै सप्तरीको महुली स्थित क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ ।


क्वारेन्टाइनमा राखिएका भारतीय कहाँबाट आएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित : चैत्र २७, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?