कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लकडाउनमा सिकारी वनतिर 

शिव पुरी

रौतहट — दुई दिनअघि गस्तीमा निस्केको चोचा वन सेक्टरको सशस्त्र टोली र सिकारीबीच जम्काभेट भयो । गुजारा–२ स्थित सिँचाइ नगरक्षेत्रको वनमा सानो समूहमा रहेका सिकारीलाई नियन्त्रणमा लिन टोलीले २ राउन्ड फायर गर्‍यो । तर, सिकारीहरू उम्किए । 

लकडाउनमा सिकारी वनतिर 

चोचा सेक्टरका अधिकृत राजेश्वर साहको कमान्डमा गएको टोलीले वन्यजन्तु मार्न ल्याइएको एक थान भरुवा बन्दुक बरामद गरेको छ । यो क्षेत्रमा पछिल्लो दस वर्षदेखि सिकारीले वन्यजन्तु मार्दै आएका छन् । अघिल्लो वर्ष वैशाख २ गते वन टोलीले यहीँ तीन थान बन्दुक बरामद गरेको थियो । कोभिड–१९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको मौका छापी सिकारी फेरि राष्ट्रिय वन प्रवेश गर्न थालेका छन् । उनीहरू बँदेल, हरिण, नीलगाई, खरायोलगायत जन्तु मार्ने गर्छन् ।


लकडाउनको फाइदा उठाउँदै काठ तस्कर पनि हाबी हुने देखेर गस्ती बढाइएको डिभिजन वनप्रमुख विनोद सिंहले बताए । ‘राष्ट्रिय वनभित्र सिकारीले जन्तु मार्छन् भनेरै हामीले उच्च सतर्कता अपनाउँदै गस्ती गरेका छौं,’ उनले भने, ‘अवैध हतियार बोकेर वन्यजन्तु मार्न स्थानीय नै अग्रसर हुन्छन् ।’

सिकारीले गाउँका सोझासाझालाई मासुको लोभ देखाएर समूह बनाई वन लैजान्छन् । सुकेको पत्करमा आगो सल्काउँछन् । चारैतिर आगो फैलिएपछि वन्यजन्तु सकसमा परेर भाग्न खोज्छन् । सिकारीहरू हतियारसहित गौंडा कुरेर बस्छन् र त्यहाँबाट निस्कन खोजेका वन्यजन्तुलाई निसाना लगाउँछन् । उनीहरूले गाउँघरबाट झोरुवाका रूपमा मानिस लैजान्छन् । डढेलो छल्दै भाग्ने वन्यजन्तुलाई झोरुवाले सिकारी भएकातिर धपाउँछन् । सिकारपछि झोरुवाले पनि केही भाग पाउँछ । हतियार नहुनेले जाल थापेर सिकार गर्छन् ।


जिल्लाका चोचा, चन्द्रपुर, गैंडाटार, रंगपुर, बलरी क्षेत्रमा वन्यजन्तु मारिने गरेको स्थानीय बताउँछन् । यहाँ अझै पनि धेरैका घरमा अवैध हतियार राखिएको छ । सिकार गरेर ल्याइएको वन्यजन्तुको मासु लुकाएर गाउँघरमा बिक्री हुने गरेको पाइएको छ ।


दुई दशकअघि तत्कालीन जिल्ला वन कार्यालयका सुवेदार द्रोणप्रसाद न्यौपाने र सशस्त्र वनरक्षक भोजबहादुर घिमिरेको रंगपुर वनभित्र सिकारीले गोली हानी हत्या गरेका थिए । त्यसपछि वनले गस्ती र सर्च अभियान व्यापक बनाएको थियो । केही वर्षसम्म सिकार गर्ने क्रम रोकियो । पछिल्लो दशकयता फेरि बढेको छ । फागुन, चैत र वैशाखमा वनमा डढेलो लाग्ने र वन्यजन्तु बाहिर निस्कने भएकाले सिकार गर्ने समूह यो बेला अझ सक्रिय हुने गरेको छ ।

प्रकाशित : चैत्र २६, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?