२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

चोरबाटोबाट नेपाल प्रवेश गर्नेलाई रोक्न सीमाक्षेत्रमा थपियो सुरक्षा पोस्ट

नेपाल प्रहरी र सशस्त्रले संयुक्त रुपमा नेपाल-भारत सीमाक्षेत्रमा गस्ती गरिरहेका छन्
शिव पुरी

रौतहट — भारतका विभिन्न सहरबाट फर्केकाहरु सीमाक्षेत्रको चोरबाटो हुँदै छिर्न थालेपछि सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टर गण रौतहटले अस्थायी सुरक्षा पोस्ट थपेर निगरानी बढाएको छ। लकडाउनकै बीच सीमाक्षेत्रबाट मानिसहरु प्रवेश गर्न थालेको सूचनापछि पोस्ट थपिएको हो।

चोरबाटोबाट नेपाल प्रवेश गर्नेलाई रोक्न सीमाक्षेत्रमा थपियो सुरक्षा पोस्ट

भारतमा पनि लकडाउन कायमै रहेको अवस्थामा रोजगारीका लागि गएकाहरु हिँडेर सीमा प्रवेश गरेका थिए। ‘भारतबाट पैदल आएर चोरबाटो हुँदै नेपाल प्रवेश गर्नेलाई तत्कालै नियन्त्रणमा लिन चौबीसै घन्टा गस्ती बढाएका छौं,’ प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी राजु अर्यालले भने, ‘पोस्ट थपेर सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ।’


रौतहटमा भारतसँग सीमा जोडिएको ३२ किलोमिटर खुला क्षेत्र छ। भारतबाट फर्कनेहरु यहीँबाट छिर्ने गरेका थिए। बौधीमाई नगरपालिको छोटी भन्सार, ईश्नाथको मावि मठिया भवन, घिउरा कान्ति आधारभूत भवन, राजदेवीको सामुदायिक भवन, गौरको माहादेवपट्टि र कानुपट्टिमा अस्थायी सुरक्षा पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वार्टर प्रमुख एसपी रवीनराज कर्णिकारले बताए।




प्रदेश २ का विभिन्न जिल्लाका खुला नाका प्रयोग गरेर भारतबाट आउने क्रम नरोकिएपछि नेपाल प्रहरीले पनि सीमा नाकामा थप चेकपोस्ट खडा गरेको छ। यसअघि प्रदेशका नाकामा १ सयको हाराहारीमा चेकपोस्ट रहेकोमा त्यसलाई बढाएर ३ सय २९ पुर्‍याइएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले बताए। ‘नेपाल प्रहरी र सशस्त्रले संयुक्त रुपमा सीमाक्षेत्रमा गस्ती गरिरहेका छन्। अब चोरबाटो प्रयोग गरेर प्रवेश गर्छु भनेर नसोचे हुन्छ,’ उनले भने।

प्रकाशित : चैत्र २५, २०७६ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?