हुरीपीडितको रकम कोरोना कोषलाई 

लक्ष्मी साह

(बारा) — कांग्रेसले हुरीपीडितको राहत रकम प्रदेश २ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ । बारा–पर्साका हुरीपीडितका लागि जम्मा पारिएको ४० लाख ७५ हजार रकम कांग्रेसले वर्ष दिनसम्म आफ्नै खातामा राखेको थियो । 

हुरीपीडितको रकम कोरोना कोषलाई 

२०७५ चैत १७ (एक वर्षदेखिअघि) मा आएको हुरीबाट पीडितलाई उक्त रकम उपलब्ध गराउन पार्टी केन्द्रीय कार्यालयसहित पार्टीका सांसद र जिल्ला पार्टी तहबाट जुटेको थियो । त्यो बेला हुरीबाट बारामा २८ र पर्सामा १ गरी २९ जनाको मृत्य भएको थियो भने सयौं जना घरविहीन र घाइते भएका थिए ।


कांग्रेस जिल्ला समिति बाराका सभापति जयचन्द्र चौरसियाकाअनुसार पार्टी केन्द्रीय कार्यालयले उपलब्ध गराएको २५ लाखसहित अन्य ठाउँबाट जुटेको त्यही बेलाको रकमको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको हो ।


प्रदेश सभाका संसदीय दलका सभापति रामसरोज राय यादवको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको उनले बताए । ‘पार्टीले हुरीपीडितको लागि सहयोग रकम उपलब्ध गराएको थियो, तर नेपाली सेनाले घर निर्माण गरिसकेपछि रकम ढिलो गरी उपलब्ध भयो,’उनले भने, ‘सेनाले घर बनाइदिएपछि त्यो सहयोग दिएको खासै अर्थ राख्ने थिएन, त्यसैले नमासेर राखेका थियौं । मानवीय सहयोगकै लागि राखेका थियौं ।’

अहिले त्यही रकम प्रदेश २ अन्तर्गतका सबै जिल्लाका पार्टी सभापति र पार्टी केन्द्रीय कार्यालयबाट सल्लाह गरेर कोरोना रोकथाम मुख्यमन्त्री राहत कोषका लागि उपलब्ध गराएको उनले बताए ।

प्रकाशित : चैत्र २४, २०७६ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?