सेनाले बनायो कोरोना अस्पताल 

लक्ष्मी साह

बारा — नेपाली सेनाले पथलैयामा अस्थायी अस्पताल बनाएर संचालनमा ल्याएको छ । कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै सेनाले तीन साता लगाएर सशस्त्र र नेपाल प्रहरीको सहयोगमा उक्त अस्पताल बनाएको हो । 

सेनाले बनायो कोरोना अस्पताल 

जीतपुरसिमरा उपमहानगरका इन्जिनियर संजीव रुपाखेतीले पथलैयास्थित गार्मेन्ट उद्योगको खाली भवनमा अस्पताल बनाइएको बताए । ‘नेपाली सेनाको प्राविधिक सहयोग र उपमहानगरको आर्थिक सहयोगमा क्वारेन्टाइन र आइसोलेसनसहितको अस्पताल बनाइएको छ,’ उनले भने ।


उनका अनुसार अस्पतालमा १५ लाख खर्चेर ५० शैय्याको क्वारेन्टाइन र १६ शैय्याको आइसोलेसन वार्ड बनाइएको छ । अस्पतालका मुख्य चिकित्सक अनुस थापाका अनुसार तीन जना एमबीबीएस चिकित्सकसहित २० स्वास्थ्यकर्मीसहितको टोली अस्पतालमा खटाइएको छ ।


‘टेकु अस्पतालमा सप्लाई गर्ने कम्पनीबाटै स्वास्थ्य सामग्री खरिद गरी प्रयोग गरिरहेका छौं,’ उनले भने । यो अस्पतालको क्वारेन्टाइनमा १२ जना बिरामी छन् । आइसोलेसनमा भने छैनन् । अस्पतालमा एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा १८ वटा सीसी क्यामरा, टिभी, ‘लाउड स्पीकर’, वाइफाईसहितको सुविधा छ । ‘विरामीलाई खल्लो महसुस नहुने गरी व्यवस्थापन गरिएको छ,’ अस्पताल निर्माणमा कार्यरत नेपाली सेनाका एक कनिष्ठ अधिकारीले भने । क्वारेन्टाइनको सबै शैय्यामा एउटाले खोक्दा वा हाछ्यु गर्दा अन्यलाई असर नहोस भनेर ‘पाटिसन’ गरिएको छ ।

अस्पतालमा चर्पी र भान्सासहितको सुविधा छ । त्यहाँ दैनिक डिसइन्फेक्सन गर्ने गरिन्छ । ‘आइसोलेसन कक्ष छुट्टाछुट्टै छ । सीसी क्यामराले मोनिटर कक्षबाटै विरामीको निगरानी भइरहेको छ,’ ती अधिकारीले भने, ‘विरामीको तापक्रम जाँच्नेदेखि खाना खानेसम्मको सूचना ‘लाउड स्पीकर’ बाटै दिइने गरिएको छ ।’

प्रकाशित : चैत्र २४, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?