यात्रु बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

बिरामी हो भनेर सद्दे मानिसलाई पनि सुताएर ल्याउने गरेको पाइएको छ।
शिव पुरी

रौतहट — बिरामी छाडेर यात्रु बोक्न थालेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शनिबार ३ वटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ। तीमध्ये दुई वटा निजी र एउटा रेडक्रस सोसाइटी उपशाखा हिरापुर बैरेजको रहेको छ।

यात्रु बोक्ने एम्बुलेन्स प्रहरी नियन्त्रणमा

रिजर्भमा यात्रु ओसार्न थालेपछि प्रहरीले चालकसहित पूर्वपश्चिम राजमार्गबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो।


काठमाडौंबाट हरिऔन आउँदै गरेको ज १ च १३४४ नम्बरको एम्बुलेन्सलाई प्रहरीले पौराई खण्डबाट नियन्त्रणमा लिएको हो। सर्लाही, हरिऔन-११ घर भएका चालक कृष्ण लामाले १२ हजार रुपैयाँ रिजर्भमा ६ यात्रु बोकेका थिए। ‘बिरामी छाडेर यात्रु बोक्न थालेका कारण कडाइ गरेका हौं,’ डीएसपी हेमबहादुर शाहीले भने, ‘बिरामी हो भनेर सद्दे मानिसलाई सुताएर ल्याउने गरेको पाइएको छ।’


सर्लाहीको बरथहवाबाट पनि एक परिवारका सदस्य बोकेर वीरगन्ज हिँडेको ना १ च ९१९६ नम्बरको रेडक्रसको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। चालक शिवकुमार यादवले बच्चा बिरामी भएको भनेर खबर आएपछि वीरगन्ज लैजान लागेको दाबी गरे। त्यस्तै यात्रु बोकेर सर्लाहीको नवलपुरबाट वीरगन्ज जाँदै गरेको ना २ च ९९७७ नम्बरको एम्बुलेन्स र चालक राजमहम्मद मिया पनि नियन्त्रणमा छन्।


सामान्य दिनको तुलनामा लकडाउनका बेला राजमार्गमा एम्बुलेन्स बढी चलेको देखेपछि प्रहरीले शंका लागेर जाँचलाई तीव्र पारेको छ।


यसैबीच, कुनै पनि बिरामीलाई अस्पताल लैजानुपरे एम्बुलेन्स चालकले प्रहरीलाई अनिवार्य जानकारी गराउनुपर्ने भएको छ।

प्रकाशित : चैत्र २२, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?