१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

वीरगन्जका भन्सार सुनसान 

शंकर आचार्य

पर्सा — मालसामान तथा सेवाग्राहीको भीडभाड रहने वीरगन्जका भन्सार कार्यालयहरू डेढ सातायता लकडाउनका कारण सुनसान हुँदै गएका छन् । वीरगन्ज/आईसीपी भन्सार कार्यालयमध्ये आईसीपीतर्फ मालवस्तु आउने क्रम नरोकिए पनि सेवाग्राहीको उपस्थिति न्यून छ ।

वीरगन्जका भन्सार सुनसान 

भन्सार अधिकृत रमेश सुखमणिका अनुसार आईसीपी नाकाबाट इन्धनलगायत अन्य मालवस्तु भित्रिने गरेकाले वीरगन्जतर्फको भन्सार भने सुनसान नै छ । ‘वीरगन्ज नाकाबाट फाट्टफुट्ट इन्धन तथा बल्क कार्गो सामान कहिलेकाहीँ भित्रिहाले पनि त्यो अत्यन्त न्यून छ,’ उनले भने, ‘सेवाग्राही पनि कम आइरहेका छन्, राजस्व संकलनको दृष्टिले पनि हालको अवस्था अत्यन्त खराब छ ।’

सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनमा रहे पनि सेवाग्राहीको उपस्थिति नै न्यून छ । बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठका अनुसार भारतबाट कन्टेनर तथा बोरोबन्द कार्गो सामान आउने क्रम जारी रहे पनि ती मालवस्तु गन्तव्यतर्फ जान सकिरहेका छैनन् । ‘आयातित मालवस्तु तथा कन्टेनर आगमनको तुलनामा यहाँबाट गन्तव्यतर्फ मालवस्तु लग्ने क्रम अत्यन्त कम छ,’ उनले भने, ‘यसले गर्दा बन्दरगाहमा २ हजार बढी मालवाहक कन्टेनर थुप्रिएका छन्, फलाम, मदिरा आदि वस्तु पनि ठूलो परिमाणमा थन्किएका छन् ।’ लकडाउन र कोरोना त्रासका कारण कन्टेनर तथा बल्क कार्गो वस्तु ढुवानी गर्ने मालवाहक सवारीसाधन पनि अत्यन्त कम चलेका छन् ।

भन्सार कार्यालयले पछिल्ला दिन न्यून परिमाणमा राजस्व संकलन गरिरहेको उनले बताए । लकडाउन सुरु भएयता दैनिक करिब २ करोड रुपैयाँ हाराहारी मात्र राजस्व संकलन भइरहेको उनले जानकारी दिए । यो भन्सारले सामान्य अवस्थामा दैनिक ८ देखि १० करोड रुपैयाँसम्म संकलन गर्थ्याे । वीरगन्ज/आईसीपी मुलुककै सर्वाधिक राजस्व संकलन गर्ने भन्सार हो भने सुक्खा बन्दरगाह भन्सार पनि उत्कृष्ट पाँचभित्र पर्छ ।

प्रकाशित : चैत्र २२, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?