कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ल्याउँदा एम्बुलेन्समा, जाँदा पैदल

एम्बुलेन्स चालकसमेत बोक्न मान्दैनन् क्वारेन्टाइनबाट घर फर्कनेलाई
अजित तिवारी

जनकपुर — सिक्सलेन हुँदै ६ किलोमिटर दक्षिण हुइँकिए जटही नाका पुगिन्छ । १० किलोमिटर उत्तर सिक्सलेन छिचोल्दा जनकपुर पुगिन्छ । धनुषाको गंगुलीस्थित क्षेत्रीय क्वारेन्टाइन दूरीका हिसाबले घना बस्तीभन्दा परै छ । मिथिला आयुर्वेद कलेजको पर्खालले घेरिएको तीनतले भवनको दोस्रो तलामा १९ जनालाई क्वारेन्टाइन गरिएको छ ।

ल्याउँदा एम्बुलेन्समा, जाँदा पैदल

प्रदेश २ सरकारले नेपाली सेनाको सहयोगमा तयार पारेको २५० बेडको क्षेत्रीय क्वारेन्टाइनमा भारत र कतारबाट फर्किएका १९ जनालाई राखिएको छ । कोरोना भाइरस रोग (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि एकै परिवारका ९ जना बिहीबार घर फर्किएका छन् । तर, उनीहरूको फिर्ती पीडादायी रह्यो । क्वारेन्टाइनमा एम्बुलेन्समा आइपुगेका महोत्तरीको औरही नगरपालिकाका ती परिवारका ९ सदस्यलाई घर लैजान कुनै गाडी तयार भएनन् ।

कतारबाट फर्किएका घरका एक सदस्यमा उच्च ज्वरो देखिएपछि ५ दिनअघि परिवारका सबैलाई एम्बुलेन्समा हालेर क्वारेन्टाइन स्थल पुर्‍याइएको थियो । उच्च ज्वरो आएकाको जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहे पनि अन्य ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्न फर्काइएको थियो ।

क्वारेन्टाइनको व्यवस्थापन र सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार उनीहरूलाई पुर्‍याउन एम्बुलेन्स बोलाउँदा पनि आउन मानेनन् । ‘क्वारेन्टाइनबाट डिस्चार्ज हुनेलाई घर पुर्‍याउन गाडीले मान्दैन,’ ती अधिकारीले भने, ‘क्वारेन्टाइनमै गाडीको व्यवस्था भए सजिलो हुन्थ्यो । तरकारीलगायत अन्य समान खरिद गर्नुपर्दा पनि पैदलै जानुपर्ने बाध्यता छ ।’

गंगुलीमा रहेको क्षेत्रीय क्वारेन्टाइनको व्यवस्थापन नेपाली सेनाले हेरिरहेको छ । सेनाले पनि गाडी नहुँदा तरकारीलगायत आवश्यक किनमेल हिडेरै गर्नुपरेको जनाएको छ ।


क्वारेन्टाइनमा बसेकालाई बिहान–बेलुका खाना, बिहान–दिउँसो खाजा र दिनमा तीनचोटि तातो पानी दिइने गरेको सेनाका क्याप्टेन सुविद बस्नेतले जानकारी दिए । उनका अनुसार बिहानको खाजामा चना र चिया तथा दिउँसो चाउचाउ, बिस्कुट र चिया खुवाइन्छ । खानामा बिहान–बेलुका दाल, भात र तरकारी पस्किइन्छ ।

मास्क लगाएका नेपाली सेनाका चार जना बाल्टिनमा दाल र तरकारी तथा टपमा भात बोकेर दोस्रो तल्ला उक्लिन्छन् । क्वारेन्टाइनमा रहेकाहरू त्यहाँ करिब १ मिटर दूरीमा थाल बोकेर उभिएका हुन्छन् । टेबुलमा परैबाट थाल राखेपछि पालैपालो सैनिकले त्यसमा खाना राखिदिन्छन् । खाना पस्किएको थाल बोकेर उनीहरू आफ्नै कोठामा गएर खान्छन् । मास्कबाहेकका सुरक्षा सामग्री नहुँदा नेपाली सेनाले जोखिम मोलेर उनीहरूको हेरचाह गरिरहेको छ ।

मास्ककै भरमा क्वारेन्टाइन

प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा निर्माण गरेको क्षेत्रीय क्वारेन्टाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका व्यक्तिहरू मास्ककै भरमा छन् । उनीहरूसित अन्य कुनै सुरक्षा सामग्री छैनन् ।

‘स्वास्थ्य सुरक्षाको कुनै बन्दोबस्त छैन । आफू बाँचिए अरूलाई बचाउने हो,’ एक सुरक्षाकर्मीले भने । क्वारेन्टाइनमा सेनाका क्याप्टेनको नेतृत्वमा १४ जना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जना असई र ११ जना स्वास्थ्यकर्मी खटिएका छन् । स्वास्थ्यकर्मीले भने २–२ जनाको पालो राखेका छन् ।

क्वारेन्टाइनको व्यवस्थापन हेर्न शुक्रबार बिहान पुगेका जनकपुरधाम उपमहानगरका प्रमुख कार्यकारी अधिकृत गोपाल रेग्मीले पानी, साबुन र सेनिटाइजरको बन्दोबस्त गरिदिने आश्वासन दिएका छन् । ‘क्वारेन्टाइन स्थलमा टुटी भएको बाल्टिन, साबुन र सेनिटाइजरको अभाव देखियो,’ उनले भने, ‘मास्क पनि पर्याप्त थिएन । यी सबै सामानको व्यवस्थापनका लागि उपमहानगरले पहल गरिरहेको छ ।’


पट्यारलाग्दो क्वारेन्टाइन

क्वारेन्टाइनमा बसेकाहरू, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू क्वारेन्टाइनको बसाइ पट्यारलाग्दो रहेको बताउँछन् । सहरभन्दा टाढा र एकान्त ठाउँ रहेकाले दिन काट्न मुस्किल परेको उनीहरूको भनाइ छ ।

‘टेलिभिजन र इन्टरनेटको व्यवस्था भए समय कटाउन सजिलो हुन्थ्यो,’ धनुषाका एक युवकले भने, ‘खायो, बस्यो, सुत्यो । अल्छी मात्र लाग्छ । कसरी काट्ने १४ दिन ? बोरिङ छ यहाँको बसाइ ।’

प्रकाशित : चैत्र २१, २०७६ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?