१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राम-जानकी मन्दिरभित्र विशेष पूजा 

श्यामसुन्दर शशि

काठमाडौँ — भगवान रामको जन्मदिनको अवसरमा आज जनकपुरको प्रसिद्ध राम तथा जानकी मन्दिरको बाहिरी भाग सुनसान देखिए पनि भित्र भने विशेष पूजा आयोजना गरिएको छ ।

राम-जानकी मन्दिरभित्र विशेष पूजा 

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवका अनुसार रामनवमीको अवसरमा आज दिनभरि विशेष पूजा गरिनेछ । बिहान विशेष आरती गरिएको छ भने मध्यान्ह बधैया तथा साँझ पुन: विशेष आरतीसँगै विभिन्न कार्यक्रमहरु आयोजन हुनेछ ।

विगतका वर्षहरुमा रामनवमीका अवसरमा श्रद्धालु सहभागिता हुन्थे । तर कोरोना भाइरसको जोखिमका कारण यस वर्ष भने विशेष पूजा अर्चनामात्र गरिने भएको हो ।

‘भगवान श्रीरामसँग विश्व शान्तिको कामना गरेका छौं । सकारात्मक सोच तथा आस्तिक विचारले मात्र कोरोना जस्तो महामारीलाई परास्त गर्न सकिन्छ,’ उत्तराधिकारी महन्त दासले भने ।

झण्डै एक सातादेखि जानकीमन्दिरसँगै राममन्दिरको मूल ढोका पनि बन्द छ । उत्तरी ढोकाबाट मन्दिर दर्शन गर्न जानेहरुको क्रम भने यथावत छ । राममन्दिरका महन्त राम गिरीका अनुसार राममन्दिरमा पनि विशेष पूजा आयोजन गरिएको छ ।

रामनवमीको दिन राममन्दिरमा नेपाल र भारतका हजारौं साधु सन्त सहभागी हुन्थे । उनीहरुका लागि सामुहिक भोजको आयोजन गरिन्थ्यो ।

यसैगरी राममन्दिर परिसरमै रहेको राजदेवी मन्दिरमा पनि विशेष पूजा आयोजन गरिएको छ । राजदेवी मन्दिरको उत्तरी ढोका बन्द गरिए पनि पश्चिमी ढोकाबाट श्रद्धालुहरुको दर्शन गर्ने क्रम भने जारी छ । मन्दिर व्यवस्थापनले सामाजिक दूरी कायम राख्ने व्यवस्था गरेको छ ।

प्रकाशित : चैत्र २०, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?