बारामा क्वारेन्टाइनबाट ४ घर फिर्ता, ११ जना निगरानीमै 

लक्ष्मी साह

बारा — कोरोना संक्रमित युवतीसँगै कतारको जहाजबाट स्वदेश आएका बाराका २ यवक क्वारेन्टाइनबाट मंगलबार घर फिर्ता भएका छन् । चैत ४ मा आएका उनीहरु कलैया अस्पतालको क्वारेन्टाइनबाट घर फिर्ता भएका हुन् । एक हप्ताको निगरानीमा स्वास्थ्य अवस्था समान्य पाइएपछि उनीहरुलाई घरभित्रै ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने गरी घर फिर्ता पठाइएको जिल्ला प्रहरी कायाएलयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

बारामा क्वारेन्टाइनबाट ४ घर फिर्ता, ११ जना निगरानीमै 

उनीहरु दुवै जना चैत ४ मा फ्रान्सबाट दोहाको कतार हुँदै नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै आएका थिए । प्रहरीले दुवैलाई सम्पर्कमा ल्याएर चैत ११ देखि क्वारेन्टाइनमा राखिएको थियो । यी दुवै युवकबाहेक त्यहीँ क्वारेन्टाइनमा राखिएका अन्य २ जनालाई समेत घर फिर्ता पठाइएको उनले बताए । त्यसमध्ये एक जना ओमानबाट चैत ८ मा आएका हुन् भने अर्का एक जना स्थानीय हुन् ।

प्रवक्ता गौतमका अनुसार कलैया अस्पतालको क्वारेन्टाइनमा अझै ७ जना निगरानीमा छन् । जसमध्ये १ जना भारतीय हुन् । यसैगरी सिम्रौनगढ नगरपालिकाले कंकाली माविमा बनाएको क्वारेन्टाइनमा चैत ४ पछि कतारबाट आएका १ जनासहित ३ जनालाई निगरानीमा राखिएको छ । यसमा पनि एक जना भारतीय छन् ।

आदर्श कोतवाल गाउँपालिकाले महेन्द्र आदर्श माविमा बनाएको क्वारेन्टाइनमा चैत ४ अघि मलेसियाबाट आएका १ जनालाई निगरानीमा राखिएको छ । ‘जिल्लामा १५ जना क्वारेन्टाइनमा राखिएकामध्ये ४ जनाको अवस्था समान्य देखिएपछि घर फिर्ता गरिएको छ,’ प्रहरी प्रवक्ता गौतमले भने, ‘जिल्लामा हालसम्म प्रहरीलगाउत स्थानीय तहमा २ सय ३० जना क्षमताको क्वारेन्टाइन तयार भएको छ ।’

उनका अनुसार कोल्हवी नगरपालिकको नेरामाविमा ३५, निजगढ नगरपालिकाको उद्योग वाणिज्य संघको सभा कक्षमा १ सय ५, कलैया उपमहानगरपालिकाको कलैया अस्पतालमा १५, पचरौता नगरपालिकाको पिरपातीमा माविमा २५, महागढीमाई नगरपालिकको बबुआइन विद्यालयमा २० शय्याको क्वारेन्टाइन तयारी गरिएको छ ।

यसैगरी सिम्रौनगढ नगरपालिकाको कंकाली माविमा ६, आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श माविमा ८, देवताल गाउँपालिकाको पिप्राढी विद्यालयमा ४, सुवर्ण गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १० र जिल्ला प्रहरी कार्यालयमा २ गरी जम्मा २ सय ३० शय्याको क्वारेन्टाइन बनाइएको छ ।


जीतपुर सिमरा उपमहानगरपालिकको पथलैयामा १ सय शय्याको अस्थायी कोराना अस्पताल बनाइने भनिए पनि तयार भएको छैन् । यसरी यहाँका १६ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहले मात्र क्वारेन्टाइनको तयारी गरेको छ । ७ वटाको अझै तयारी छैन् ।

प्रकाशित : चैत्र १९, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?