लागूऔषध मुद्दामा मेयरलाई पक्राउ पुर्जी, आरोपी फरार

शिव पुरी

रौतहट — लागूऔषध गाँजा मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी मकवानपुरले रौतहटको ईशनाथ नगरपालिकाका मेयर  र उनका भाइलाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी सार्वजनिक गरेपछि आरोपित भागेका छन् ।

जिल्लाको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता, उनका भाइ मोहन मेहतालाई पनि मकवानपुर प्रहरीले लागूऔषध गाँजाको मुद्दामा अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी रौतहटको नाममा पक्राउ पुर्जी पठाएको हो । आरोपी पक्राउ पर्न नपाउँदै प्रहरीले पत्र सार्वजनिक गरेको छ । मेयरका भाइ मोहन नेकपाका ईशनाथ नगर अध्यक्ष हुन् । उनीहरु दुबै सम्पर्कविहीन भइसकेका छन् ।


लागूऔषध गाँजाको प्रतिवादी विनोद सहनीसमेत भएको मुद्दामा मकवानपुर जिल्ला अदालतले मेयर सन्तोष र उनका भाइ मोहनलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको हो । प्रदेश २ प्रहरी प्रमुख डिआईजी प्रधुम्‍न कार्कीले पक्राउ पूर्जीजस्तो अति नै गोप्य पत्र कसरी बाहिर आयो भन्ने विषयमा बुझ्ने बताए । ‘प्रहरीले जारी गर्ने पक्राउ पूर्जी अत्यन्त गोप्य हुन्छ,’उनले भने,’‘आरोपी पक्रन नपाउँदै यो कसरी सार्वजनिक भयो म बुझ्छु ।’


जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले मेयर र उनका भाइलाई पक्राउ गर्न आएको पूर्जीबारे अनभिज्ञ रहेको जनाए । उनले आफूलाई केही पनि थाहा नभएको बताए ।


गत माघ ११ गते हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीस्थित इलाका प्रहरीबाट प्रहरी नायव निरीक्षक राजेशकुमार यादवको कमान्डमा खटेको टोलीले पूर्वपश्चिम लोकमार्गमा जाँच गर्ने क्रममा रौतहट ईशनाथ नगरपालिकास्थित डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र ६ पोकामा ३० किलो ६ सय ग्राम गाँजा र ९१ हजार नेपाली रुपैयाँ बरामद गरेको थियो । गाँजासहितको एम्बुलेन्स मनहरीबाट हेटौंडातर्फ आउने क्रममा बाटोमा पक्राउ परेको हो ।


एम्बुलेन्स चालक डुमरिया गाउँका महम्मद खलिद, एम्बुलेन्समा सवार अशोककुमार र भारत बिहारको मोतीहारी जिल्ला बसन्तपुरका विनोद सहनीलाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरीक्षक ललन कुर्मीले जनाए । ‘यही घटनामा अनुसन्धानाका लागि मेयर सन्तोष र उनका भाइ मोहनलाई पक्राउ गर्न पत्र पठाइएको हो,’उनले भने,‘पक्राउ परेकाहरुको बयानका आधारमा अनुसन्धान जारी छ ।’


मेयर सन्तोष र उनका भाइ मोहनको मोबाइल अफ छ । नगरपालिका श्रोतका अनुसार उनीहरु सम्पर्कविहीन भइसकेका छन् ।


प्रकाशित : चैत्र १८, २०७६ १८:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अपांग आवास गृहमा सरसफाइ सामग्रीको अभाव

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराइए पनि बेवास्ता
विद्या राई

काठमाडौँ — लकडाउनका कारण आवासीय रुपमा बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुलाई सरसफाइ सामग्रीको अभाव हुन थालेको छ। राष्ट्रिय अपांग महासंघका महासचिव राजु बस्नेतका अनुसार उनीहरुलाई डाइपर, सीआईसी (प्लेन) क्याथेटर, फोली क्याथेटर, कण्डम क्याथेटर,  युरिन ब्याग, जाइलोकोन जेली, सेनेटरी प्याड, ह्यान्ड ग्लोब्स, डिटोल, मास्क, सेनिटाइजरको अभाव भएको हो। 

अपांगता भएका व्यक्तिलाई सामान्य मानिसको भन्दा विशेष हेरचाह गर्नुपर्ने हुँदा सरसफाइका सामग्री उति नै बढी लाग्ने जोरपाटीस्थित खगेन्द्र नवजीवनकी सूर्यकुमारी गुरुङले बताइन् ।

'लकडाउनले गर्दा बाहिर किन्न जान पाइएको छैन, केहीकेही स्टक छन्, दुईतीन दिनपछि ठप्पै हुने अवस्था छ,' उनले भनिन्। यहाँ बच्चादेखि ८५ वर्षसम्मका अपांगता भएका व्यक्ति बस्छन्।

खगेन्द्र नवजीवन केन्द्रसहित नेपाल अपांग महिला संघ होस्टल, निर्मल बालविकास स्कुल, आदर्श सोल विद्यालय, बिआईए फाउन्डेसन र समानता आवासगृहमा पनि सरसफाइ सामग्री अभाव भएको छ।

समस्या समाधानका लागि अपांग महासंघले शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आइतबार स्वास्थ्य मन्त्रालयलाई लिखित ध्यानाकर्षण गराएको थियो। ‘सुरुमा महिला मन्त्रालय गयौं, स्वास्थ्यमार्फत जुटाउनु भनेपछि उता गयौं,' महासचिव बस्नेतले भने,' स्वास्थ्यका प्रवक्ताले व्यवस्था गर्छु भन्नुभएको थियो, आजसम्म भएको छैन।’ महासंघ आफैले खरिद गरेर अभाव हुनै लागेका आवासगृहमा सरसफाइ सामग्री बाँड्न चाहे पनि यातायात पाससमेत पाउन नसकेको उनले बताए।

देशभर ४२ वटा अपांगता पुनर्स्थापना केन्द्र, छात्राजास, निजी छात्रावास, स्रोत कक्षा, व्यावसायिक तालिम केन्द्रहरुमा आठ सयभन्दा धेरै अपांगता भएका व्यक्ति आवासीय रुपमा बसोबास गर्दै आएका छन्।

प्रकाशित : चैत्र १८, २०७६ १८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×