१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लकडाउन उल्लंघन गर्नेलाई उठबसदेखि ‘पुसअप’ सम्म

शिव पुरी

रौतहट — कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले सडकमै कारबाही गर्न थालेको छ । बिना पास र जुनसुकै बेला पनि घरबाट बाहिरिन थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञासमेत उल्लंघन भएको भन्दै प्रहरीले जाँचमा कडाइ गरेको हो ।सोमबार टिपर, जिप,मोटरसाइकल,साइकल र पैदलयात्रीहरु प्रहरीको यस्तो कारबाहीमा परे ।

लकडाउन उल्लंघन गर्नेलाई उठबसदेखि ‘पुसअप’ सम्म

पूर्वपश्चिम राजमार्गमा लकडाउन उल्लंघन गरी यात्रा गर्दै गरेकालाई प्रहरीले सडकमै सटअप, पुसअप, मुर्गा बनाउने तथा सुताउने काम गरेको थियो । लकडाउनको सुरुवाती दिनमा प्रहरीले सम्झाइबुझाइ घर फर्काउने गरेको थियो ।सर्वसाधरणले विभिन्न बाहानामा यसको अवज्ञा गरेपछिसोमबारबाट झनै कडाइ गरिएको हो ।चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले लकडाउन उल्लंघन गरेर सडकमा निस्किएकाहरुलाई उठबस र पुसअप गराउने अलावा सडकमै लामो समयसम्म उभ्याएरसमेत राखेको थियो । यस्तो कारबाहीमा स्थानीय तथा बाहिरी जिल्लाबाट बिना पास आउनेहरु पनि परेका छन् ।

एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सावरी साधन,औषधि किन्न हिँडेकाबाहेकबिना काम सडकमा निस्कनेलाई कारबाही गरेको प्रहरीजनाएको छ । जिल्लाभर पास बाहेकका अन्य सवारी साधनलाई चल्न दिइएको छैन । बिना पास सडकमा गुड्ने केही सवारीलाई भने नियन्त्रण लिएको चन्द्रनिगाहपुर इलाका प्रहरीका डीएसपी हेमबहादुर शाहीले बताए । ‘मानिसहरु जतिभने पनि मान्दैनन् । प्रहरीले लाठी चार्ज गर्‍योभन्छन् । रोगले मान्छे चिन्दैन,’उनलेभने,‘निषेधाज्ञा जारी हुँदा पनि मानिसहरु बाहिर निस्कन छाडेनन् । त्यसैले कडाई गर्नु परेको हो ।’

स्थानीय प्रशासनले आइतबारबाट मेडिकल स्टोरबाहेक जिल्लाका सबै पसलहरु खोल्न निषेध गरेको छ । सोमबार इलाका प्रशासनमा बसेको बैठकपछि स्थानीय व्यापारीमार्फत घरघरमै खाद्यान्न पुर्‍याउने व्यवस्था मिलाएको छ ।पूर्वपश्चिम राजमार्ग र मुख्य चोकहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ग्रामीण इलाकाहरुमा पनि सशस्त्र र नेपाल प्रहरीको टोलीले नियमित रुपमा मोबाइल गस्ती गर्ने गरेको छ ।

प्रकाशित : चैत्र १८, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?