२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

घरभित्रै मनाइँदै चैती छठ

श्यामसुन्दर शशि

(जनकपुर) — कोरोना भाइरसको त्रासले यो वर्ष चैती छठ पर्व यहाँका श्रद्धालुहरुले घरभित्रै मनाउँदै छन् । चार दिवसीय यो पर्वको आज (सोमबार) तेस्रो दिन सोमबार सन्ध्याकालीन सूर्यको पूजा घर–घरमै गरिँदैछ ।

घरभित्रै मनाइँदै चैती छठ

सन्ध्याकालीन अर्घ्यका दिन जनकपुरको गंगासागरमा हजारौं व्रती तथा श्रद्धालुको घुइँचो लाग्ने गर्थ्‍यो । यसपालि त्यो घुइँचो देख्न पाइन्न । गंगासागर नजिकका केही परिवार भने सामाजिक दूरीलाई पालना गर्दै सन्ध्याकालमा त्यही पुग्ने बताएका छन् । ‘ नजिकैका केही परिवार गंगासागर घाटमै जाने तयारी गर्दैछन् ’ शिवचोकका वीरेन्द्र साहले भने ।


गत शनिबार नहायखायसँगै सुरु यो पर्वको दोस्रो दिन आइतबार षडना थियो भन्ने मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गरी चार दिवसीय छठ पर्व सम्पन्न हुनेछ ।


कार्तिकमा आयोजना हुने शारदीय छठ होस् या चैतमा मनाइने वासन्ती छठ, यस पर्वको तयारी साता अघिदेखि नै सुरु हुने गर्छ । घरघरबाट छठ गीतको निरझरनी प्रवाहित हुने परम्परा छ । छठ पूजामा प्रसादको रुपमा प्रयोग हुने केला, नरिवल, ऊखु, नेवुआ, बेसारलगायत सामयिक फलफूलको पसल चोकचोकमा सञ्‍चालन हुन्छ । बाँसबाट निर्मित ढाकी, कनसुपती, चलनी, नांग्लो तथा माटो मिर्मित कोसिया, दियौरी लगायतका सामग्री बाजार यत्र तत्र देख्न सकिथ्यो । तर, कोरोना भाइरसका कारण यी सामग्रीहरु श्रद्धालुहरुले खरिद गर्न पाएनन् । जनकपुरस्थित पुरानो पेठिया बाजारमा भने छठ पूजाका सामानहरु थोर बहुत् पाइए पनि लकडाउनका कारण त्यहाँ जानै पाएनन् ।

‘पर्व त्यौहार श्रद्धाको विषय हो । यस विकट परिस्थितिमा पनि छठ पर्व मनाउनै पर्यो । अब छठ मैयाले नै यस व्याधिको समाधान गर्नु हुन्छ ’ ६० वर्षीया व्रतालु ललिता साहले भनिन् । छठ व्रतको आयोजना पवित्र जलाशयहरुको घाटमा गर्ने परम्परा भए पनि जलाशय नभएका स्थानवासीहरुले समेत व्रत बसेको तथ्य गीतहरुमा वर्णित छ ।


‘अंगनामे पोखरी खुनाएव , छठी मैया औतीह आई ...’


यो गीतको भाव हो–आज छठी मैयाको व्रत छ । छठी मैयाको आगमन हुन्छ । उनको स्वागतमा आँगनमै पोखरी खन्ने छौं । आँगनमै भए पनि छठ पर्वको आयोजना गर्नेछौं ।


आँगनमा पोखरी खन्नु सम्भव नभए पनि श्रद्धालुहरु आफ्ना आँगन वा दलानमा सानो जलाशय (डवरा) खनेर वा घरको छतमा ठूलो भाडोमा पानी भरेर पनि छठ पूजा गर्ने चलन छ । पोखरीको आभाव हुने पूर्व—पश्चिम राजमार्ग छेउ छाउका श्रद्धालुहरु ईनारकै वरिपरि छठ मान्ने गरेको अनेकौ उदाहरण पनि भेटिन्छ ।


‘छठ मिथिलाञ्चलको लोक पर्व हो । यस पर्वमा विधि विधानभन्दा पनि पवित्र भावना महत्वपूर्ण हुन्छ । पर्व पोखरीमा मनाए पनि, घरमै पानी राखेर मनाए पनि हुन्छ’ पण्डित बिन्धनाथ झाले भने ।


जनकपुरकी चेलीबेटीहरु चैती छठ मान्न माइती आउने गरेकी थिइन् । तर यस वर्ष नेपाल र भारत दुबैतिर लकडाउन गरिएको कारण चैती छठी निरस भएको उमेश साहको कथन छ । ‘असाध्य रोगबाट मुक्तिको लागि छठ पर्वको आयोजना गरिन्छ । यस वर्षको छठ पर्व वैश्विक रुपमा महामारीको रुप लिई सकेको कोरोनाबाट मुक्तिको लागि गर्दैछौं ’ उनले भने ।

प्रकाशित : चैत्र १७, २०७६ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?